Newslaya Home

​वन उपभोक्ता समुहमा विवाद, साधारण सभा नै बहिष्कार

शुक्रबार २९, भदौ २०७५

धरान । वन उपभोक्ता समुहका पदाधिकारीहरुले उपभोक्ताहरुलाई जानकारी नै नदिई वार्षिक साधारण सभा गरेको भन्दै धरान स्थित उदय सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुले सभा बहिष्कार गरेका छन् । 

समुहले ५ वर्ष यता कुनै साधारण सभा गरेन् । वर्षेनी साधारण सभा नगरेको गुनासो उपभोक्ताहरुमा बढिरहेका बेला शुक्रबार गर्न लागेको ५ औं साधारण सभामा पनि उपभोक्ताहरुलाई सुचना नै नदिईन आयोजना गरेको भन्दै उपभोक्ताहरुले सभा बिथोलेका हुन् । 

समुहका पदाधिकारीहरुले गरेको आर्थिक अनियमिततालाई ढाकछोप गर्न प्रतिनिधीहरुलाई पनि खबर नै नगरि सभा डाकिएको भन्दै सभाको उदघाटन सत्रमै कार्यक्रम रोक्न माग गर्दै नाराबाजी गरेका थिए । उपभोक्ताहरुको चर्को बिरोध हुन थाले पछि कार्यक्रमले औपचारिक रुपमा अघि बढ्न सकेन् । वन समुहबाट कुनै पनि उपभोक्ताले फाइदा लिन नसकेको उपभोक्ताहरुको गुनासो छ । 

वैज्ञानिक वनको नाममा उपभोक्तालाई कुनै सुविधा नदिई समुहका पदाधिकारीहरुले आफ्नो मनोपोली गरेको उपभोक्ता श्याम रोक्काले आरोप लगाए । उपभोक्ताहरुलाई थाहै नदिई सुटुक्क गर्न खोजिएको भन्दै उपभोक्ताहरुले सभा हुनु भन्दा अगावै आर्थिक अनियमितताको छानबिन, टोल समितीबाट आउने प्रतिनिधीहरुको सदस्यता कार्ड नविकरण, उपभोक्ताहरुको सदस्यता नविकरणका लाई समय छ्ट्याउनु पर्ने माग गरेका छन् । ‘नविकरणका लागि समय नै नदिई एकै छोटि सभाको आयोजना गरिएको छ’, रोक्काले भने, ‘हाम्रो लागि गरिएको हो भने हामीलाई किन थाहा दिईदैन ?, हाम्रो असन्तुष्टिलाई सम्बोधन नगरे सम्म सभा हुदैन ।’

भदौ २९ गते पाचौं साधारण सभा गर्ने भनिए पनि पत्राचार कसैलाई नगरेको गुनासो समुहका सल्लाहाकार धन बहादुर विष्टले गरे । ‘सभा गर्ने त भने, तर पत्रचार कसैलाई गरेनन्, मलाई पनि थाहा थिएन’, उनले भने, ‘एक दुई दिन अघि नै माईकिङ गर्नु पर्ने त्यो पनि गरेनन्, त्यसैमा सबैको गुनासो छ ।’ 

करिब साढे ९ सय हेक्टर वन क्षेत्र संरक्षण गरेका छन् भने२ सय २६ हेक्टर क्षेत्र समुहलाई हस्तान्तरण गरिएको छ । केही वर्ष अघि सम्म २२ सय उपभोक्ता रहेको समुहमा अहिले करिब १५ सय मात्रै रहेका छन् । समुहका पदाधिकारीहरुको लापरवाही र उपभोक्ताहरुलाई सेवा दिन नसक्दा सबैले छाड्दै गएको उपभोक्ताहरुको गुनासो छ । वार्डका विभिन्न टोलहरुमा १२ वटा टोलकमिटी बनाएको छ । जनसंख्याको आधारमा प्रत्येक २० जना बाट १ जना प्रतिनिधी हुने गरि समुहमा ४० जना प्रतिधिनीहरु रहेका छन् । 

सुचनानै नगरि सभाको आयोजना गर्ने तयारी भईरहेका भन्दै उपभोक्ताहरु वडा कार्यालय सम्म पुगेका थिए । नविकरण नगरिएका सदस्यहरुको नविकरण गर्ने समय पनि नदिएको भन्दै उपभोक्ताहरुले वडाअध्यक्षलाई सभा रोक्न आग्रह पनि गरेका थिए । वडाअध्यक्ष सुर्य कुमार भट्टराईले सबैको सहमतीमा सभाको आयोजना गर्न सुझाव दिदाँ पनि समुहका पदाधिकारीहरुले नसुनेको बताए । उनले भने, ‘अहिले सबै तिर आक्रोश छ, असन्तुष्टि छ, समुहको अध्यक्ष मै हुँ भनेर जे पनि गर्न पाईदैन, सबैको सहमती र मागलाई ध्यान दिदै सहमतीमा जानु आवश्यक छ ।’

सभा बिथोल्दै असन्तुष्ट पक्षहरुले आर्थिक प्रतिवेदन माथि छानबिन गर्दै प्रतिनिधीहरुको नविकरणको म्याद समय थप गर्न पनि माग गरेको छ । असन्तुष्ट पक्षको नाराबाजी चल्न थाले पछि सब डिभिजन कार्यालयका प्रमुख ज्ञान कुमार लामाले सम्झाउन खोजेका थिए । तर असन्तुष्ट पक्षले कुनै पनि हालतमा सभालाई अघि बढ्न नदिने जनाए पछि सभा रोकिएको थियो । 

सभा विथोलिए पछि कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डिभिजन वन कार्यालय सुनसरीका प्रमुख राजेन्द्र प्रसाद निरौलाले मन्तव्य समेत राख्न पाएनन् । समितीले असन्तुष्ट पक्ष संग कार्यक्रम अघि नै छलफल गरेर सभाको तयारी गर्नु पर्ने उनले सुझाव दिए । उपभोक्ताहरुले उठाएको मागहरुलाई छलफल र सहमतीबाट अघि बढ्न उनको सझुाव छ । समुहले केही दिन भित्रै साधारण सभा नगरे वन कार्यालयले हस्तक्षेप गर्न सक्ने उनले बताए । 

वन उपभोक्ता ऐन अनुसार वर्षेनी साधारण सभा गरेर डिभिजन वन कार्यालयमा प्रतिवेदन बुझाउनु पर्ने हुन्छ । वर्षेनी प्रतिवेदन बुझाँउन नसक्दा विगत २ वर्ष देखि समुहको संकलन र कटानका लागि ईजाजत पनि रोकिएको छ ।