Newslaya Home

​रंगशाला पुनर्निर्माणको काम नसकिदै प्रतियोगितको घोषणा

शुक्रबार २९, भदौ २०७५

काठमाडौं । ०७२ सालको भूकम्प जानु अघिदेखि नै पुनर्निर्माण थालिएको दशरथ रंगशाला अहिले पनि पुनर्निर्माणको काम चलिरहेको छ । तर पनि पुनर्निर्माणको काम सम्पन्न नहु्ँदै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको घोषणा भएको छ ।

दशरथ रंगशालामा आउँदो माघ ९ गतेदेखि १९ गतेसम्म मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा मदन भण्डारी इन्टरनेसनल फुटबल प्रतियोगिता हुन लागेको हो ।

दशरथ रंगशालामा २०७० साल असोजमा साफ च्याम्पियनसिप भएपछि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता भएको छैन ।

रंगशालामा प्याराफिट निर्माणको काम लगभए सकिए पनि अझै धेरै कामहरु अपूरो नै छन् । यद्यपि रंगशाला पुनर्निर्माणमा ढिलासुस्ती नहोस् र समयमै काम होस् भनेर दबाव दिनका लागि पनि प्रतियोगिता दशरथ रंगशालामै आयोजना गर्न लागेको एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ बताए ।


लिग कम नकआउटका आधारमा गर्ने प्रतियोगितामा ४ विदेशी टिम र नेपालको २ टिम सहभागी हुने भनिए पनि टिममा थपघट हुन सक्ने देखिएको छ । 

प्रतियोगिताका लागि एन्फाका मानार्थ अध्यक्ष टासी घले आफूहरुले सकेसम्म राष्ट्रिय टिम र त्यो नभएमा २३ वर्षमुनिको टिम पठाइदिन आग्रह गरेका छन् ।

आयोजकका अनुसार समूह चरणका लागि सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग खेल खेलाइने छ । प्रत्येक समूहबाट उच्च अंक ल्याउने दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । भने सेमिफाइनल र फाइनल नकआउट आधारमा हुनेछ ।


प्रतियोगिताको विजेताले २५ हजार अमेरिकी डलर र उपविजेताले १० हजार अमेरिकी डलर  पुरस्कार पाउनेछन् । 

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही एक हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।

साथै प्रतियोगिताका लागि आउने विदेशी टिमको बसोबास र खानपानको व्यवस्था आयोजकले नै गर्ने छ । भने प्रतियोगिताको लागि आउन जान लाग्ने खर्च टिमले आफैले व्यहोर्नुपर्ने छ ।