Newslaya Home

​अब सातै प्रदेशमा प्रहरी विद्यालय खुल्ने

शुक्रबार २९, भदौ २०७५

काठमाडौँ । अब नेपाल प्रहरीले सातै प्रदेशमा प्रहरी आवासीय विद्यालय खोल्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय खोल्न लागिएको हो । 

पहिला पाँच विकास क्षेत्रमा स्थापना भएको प्रहरी विद्यालय देश सङ्घीयतामा गएपछि सातै प्रदेशमा हुने गरी बाँकी दुई प्रदेशमा थप गर्न लागिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए । जेठ २७ गतेको मन्त्रिपरिषद्को बैठकअनुसार सबै प्रदेशमा प्रहरी विद्यालय पुर्याउने लक्ष्यअनुसार प्रदेश ३ को (भरतपुर) चितवन र प्रदेश ६ को (छिन्चु) सुर्खेतमा प्रहरी विद्यालय स्थापना गर्न लागेको थापाले बताए । 

प्रदेश १ को धरान (सुनसरी), प्रदेश २ गरुढा (रौतहट), प्रदेश ४ बेलचौतारा (तनहुँ), प्रदेश ५ घोराही (दाङ) र प्रदेश ७ को धनगढी (कैलाली) का प्रहरी विद्यालयमा विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् । सबै प्रदेशमा माध्यामिक तहसम्म पढाइ हुनेछ । प्रहरी विद्यालय साँगामा उच्च माध्यामिक तहसम्मको पढाइ हुँदै आएको छ । दुई प्रदेशमा विद्यालय थप गरेपछि प्रहरीबाट सञ्चालित नौ विद्यालय हुनेछन् । 

प्रहरी प्रधान कार्यालयले नयाँ बन्ने प्रहरी विद्यालयका लागि प्रहरी निरीक्षकको नेतृत्वमा २५ दरबन्दीसमेत निकाशा गरिसकेको छ । सबै प्रदेशमा विद्यालय स्थापना भएसँगै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल देशभर ७ प्रहरी विद्यालयमा झण्डै छ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् ।