Newslaya Home

सप्तरीमा स्वाइनफ्लु र हङ्कङ्फ्लुले तीन जनाको ज्यान गयो, उच्च सतर्कता अपनाउन आग्रह

बिहीबार २८, भदौ २०७५

सप्तरी। सप्तरीमा दुई प्रकारका फ्लुहरु एकसाथ देखिएका छन् । जिल्लाको कञ्चनरुप र हनुमाननगर कंकालनी नगरपालिकामा स्वाइनफ्लु र हङकङ फ्लु रोग फेला परेको हो ।कञ्चनरुपमा ज्वरोका कारण तीन जनाको मृत्यु भएपछि स्वास्थ्य सेवा विभागबाट चिकित्सकहरुको टोलीले रगत संकलन गरी परीक्षण गरेको थियो । परीक्षण गरिएको रगतबाट एक जनामा स्वाईन फ्लु (एचवानएनवान) र १० जनामा हङकङ फ्लु (एच थ्री एन टू) को भाइरस फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख निरञ्जन यादवले जानकारी दिए ।केही दिनअघि कञ्चनरुप नगरपालिका ७ का १४ बर्षका दिवश बस्नेत, वडा नम्बर ३ का १४ वर्षका किशोर राम र वडा नम्बर ९ का १४ बर्षका आमोदकुमार रामको ज्वरोका कारण मृत्यु भएको थियो ।तीन दिनसम्म रगत जाँचका लागि शिविरै सञ्चालन गरिएपछि १ हजार १ सय २२ जनाले रगत जाँच गराएका थिए । जाँच गरिएकामध्ये २४ जनाको रगत र र्याल परीक्षणका लागि काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा कञ्चनरुप ७ बलुवाका ६० वर्षका हरिलाल साहमा स्वाइन फ्लुको संक्रमण पाइएको छ । कञ्चनरुपकै ४ जना तथा हनुमाननगर कंकालनी नगरपालिकाका ६ जनामा हङकङ फ्लु फेला परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।जिल्लामा स्वाइन फ्लू र हङकङ फ्लू फेला परेपछि चिकित्सकहरुले सावधानी अपनाउन जिल्लाबासीसँग आग्रह गरेका छन् । उनीहरुले नियमित र खाना खाने समयमा अनिवार्य साबुन पानीले हात धुन पनि भनेका छन् । भिंडभाड नगर्न र भींडमा नजान सुझाव दिन्छन् ।