Newslaya Home

​नेकपा प्रवक्ता प्रकाण्ड र पोलिटब्युरो सदस्य भुजेललाई सर्वोच्चमा पेस

बिहीबार २८, भदौ २०७५

काठमाडौं । नेत्रबहादुर चन्द विप्लव नेतृत्वको (नेकपा ) प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय पोलिटब्युरो सदस्य उमा भुजेललाई विहिबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

प्रकाण्डलाई दाङबाट नेपालगन्ज हुँदै काठमाडौं ल्याइएको हो । उनलाई शुक्रबार भोजपुरबाट दाङ लगिएको थियो । जिल्ला अदालत दाङले ८ दिनको म्याद तोके पनि नसकिँदै सर्वोच्चले काठमाडौं झिकाउन पत्र काटेपछि उनलाई उपस्थित गराइएको हो । 

प्रकाण्डलाई प्रदेश तथा प्रतिनिधिसभाको चुनावका बेला सभा बिथोल्न बम विस्फोट गराएको र म्यादी प्रहरीको हत्या गरेको आरोप छ ।

भुजेललाई भने नुवाकोटबाट झिकाइएको हो । गत बैसाख १ गते काभ्रेको नमोबुद्ध नगरपालिका ६ स्थित एक पसलमा आगजनी गरेको आरोपमा उनी पहिलो पटक भदौ १२ गते पक्राउ परेकी थिइन्।

भदौ २२ गते सर्वोच्च अदालतको आदेशअनुसार रिहा भएलगत्तै पक्राउ परेकी उनलाई नुवाकोट लगिएको थियो । उनीहरु दुवैको सुनुवाइ भोलिदेखि हुने जनाइएको छ ।