Newslaya Home

​समाचार टिप्पणी : जसले चिनेका छन् निर्मलाको हत्यारा

बिहीबार २८, भदौ २०७५

इटहरी । कन्चनपुरमा बलात्कारपछि मारिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीले नसकेको चर्चा चल्न थालेको छ । हत्यारा भनेर प्रहरीले सार्वजनिक गरेको व्यक्ति अन्ततः हत्यारा नभएको भन्दै प्रहरी हिरासतबाट मुक्त भइसकेका छन् ।

अहिलेसम्म हत्याराको पहिचान प्रहरीले गर्न नसक्नु, आफैले हत्यारा भनेका व्यक्ति निर्दोष भन्दै पुनः छाडिनु, हत्यामा प्रत्यक्ष संलग्नता अनुमान गरिएका बम दिदीबहिनीलाई प्रहरीले खासै वास्ता नगर्नु जस्ता घटनाक्रमले नेपाल प्रहरीको नियतमाथि नै शंका उत्पन्न भएको छ ।

यो सबै घटनाक्रमले निर्मलाको हत्या कसले गरेको हो, कसैलाई थाहा छैन कि भन्ने शंका पनि उब्जिन्छ । तर निर्मलाको हत्यामा संलग्नहरुको बारेमा कन्चनपुरका धेरैलाई थाहा छ । जसले यो घटनालाई नजिकबाट नियालेका छन्, पत्रकार, प्रहरी, छानविन समितिलगायतलाई संलग्नहरुको बारेमा थाहा छ । तर सबै मौन छन् । 

हत्याकान्ड छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिबाट केही दिनअघि उपसचिव वीरेन्द्रबहादुर केसीले राजिनामा दिएका थिए । सुरक्षा ‘थ्रेट’ को कारण देखाएर उच्चस्तरीय छानबिन समितिबाट उनले राजीनामा दिएका थिए । 

उनले निर्मला हत्याका बारेमा सबै कुरा खोल्ने हो भने समाजमा अशान्ति हुन्छ भन्दै राजीनामाको घोषणा गरेका थिए । उनले त्यसबेला आफूलाई ठुलै अपराधिबाट डर भएको भन्दै ज्यानको सुरक्षा गर्न मानवअधिकार आयोगसहित विभिन्न निकायमा आग्रहसमेत गरेका थिए । तर उनले त्यो अपराधी को हो र उसको कनेक्सन कहाँसम्म छ भन्ने विषयमा केही बोलेका छैनन् ।

सुरक्षा चुनौतिका कारण अनुसन्धान समितिबाट हटेका ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव केसी बुधबार फेरी अनुसन्धान समितिमा फर्किएका छन् । गृह मन्त्री रामबहादुर थापा बादलसँग आफ्नो कुरा मिलेकोले समितिमा बसेर काम गर्न आफू तयार भएको उनले पत्रकार सम्मेलन नै गरेर बताए ।

बुधबार बिहान गृह मन्त्री थापाले सुरक्षाको सम्पूर्ण व्यवस्था राज्यले गर्ने प्रतिवद्धता जनाएपछि आफू समितिमा बसेर छानबिन गर्न तयार भएको उनले पत्रकार सम्मेलनमा बताए ।

अनुसन्धानका क्रममा कसैले आफूलाई ख्याल गरेर हिड्न भन्दै घुमाउरो ढंगले चेतावनी दिएपछि आफू त्रसित भएको बताए । भदौ १५ गते एक्लै निर्मलाको साइकल भेटिएको स्थानमा अनुसन्धानका लागि गएको समयमा मोटरसाइकलमा आएको व्यक्तिले आफूलाई यस्तो बताएको उपसचिव केसीले दाबी गरे । 
उनले आफूलाई आएको धम्कीबारे प्रमुुख जिल्ला अधिकारीलाई जानकारी गराएपनि केही कदम नचालिएको गुनासो गरे ।

उनको यो गुनासो, थ्रेट आदिले घटनामा हाइप्रोफाइल व्यक्ति वा समुहको संलग्नता रहेको अनुमान गर्न सकिन्छ । नभए नचिनेको कुनै व्यक्तिले अप्रत्यक्ष रुपमा धम्की दिँदा डराइहाल्नुपर्ने अवस्था बन्दैन । त्यो अप्रत्यक्षसँगै अन्य प्रत्यक्ष दबाबहरु पनि उनलाई आएका होलान् । ती सबैमा नेपालको गृहप्रशासन चनाखो हुनुपर्छ । 

बरु सय जना निर्दोष उम्किउन्, तर एउटै दोषी नपरुन् भन्ने नेपालको प्रहरीले एउटा निर्दोष व्यक्तिलाई केही भन्नै नदिइ मुख छोपेर पत्रकार सम्मेलनमा हाजिर गराएर अपराधी करार गरेसँगै जनताले न्याय पाउने आशा मारिसकेका छन् । नेपाल प्रहरीको छवि केही प्रहरी अधिकारीहरुको कारण गिरेको छ । अब त्यो छविलाई उँचो बनाउनको लागि भए पनि दोषीलाई पक्राउ गरेर सप्रमाण समाजसामु प्रस्तुत गर्नैपर्छ ।