Newslaya Home

​काठमाडौ जान चाहने डाक्टरले स्वास्थ्यमन्त्री यादवलाई धुरुक्कै पारे

बुधबार २७, भदौ २०७५

भक्तपुर। उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले काठमाडौं बाहिरका डाक्टरहरुको सरुवा मागले हैरान भएको बताएका छन् ।

काठमाडौबाहिर डाक्टर टिकाउनै गार्‍हो भइरहेको बताउँदै उनले जिल्ला जिल्लामा जाँदा डाक्टर भेट्नासाथ सरुवाको माग गर्ने गरेको बताए । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबारदेखि सुरु गरेको क्याथ ल्याब उद्घाटन कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन् ।

उनले डाक्टरहरुको काठमाडौं केन्द्रित मानसिकतालाई सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
८५ प्रतिशत नेपाली गाउँमा बस्ने तर ८० प्रतिशत चिकित्सक सहरमा केन्द्रित भएको उनको आरोप थियो ।

सरकारले यसै वर्ष थप एक हजार दुई सय वटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने जानकारी दिए । उनले गरिब नेपालीलाई विना उपचार मर्न नदिन निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिनु कम महत्वाकांक्षी नभएको सुनाए ।