Newslaya Home

​माल्दिभ्ससँग हारेसँगै साफ च्याम्पियनसिपबाट बाहिरियो नेपाल

बुधबार २७, भदौ २०७५

काठमाडौं । माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ ।  

बु्धबार भएको माल्दिभ्ससँगको खेलको पहिलो हाफमा १–० ले पछाडि परेको नेपालले खेलको अन्तिम समयमा दुई गोल खाएको थियो । खेलको सातौ मिनेटमा पाएको फ्री किकलाई माल्दिभ्सले पहिलो गोलमा परिणत गरेको थियो । दोस्रो हाफको अन्तिम समय ८३ औं र ८५ औं मिनेटमा लगातार दुई गोल गर्दै माल्दिभ्सले जित निश्चित गरेको हो । 

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा कठिन मानिएको समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको नेपालले समूह चरणमा आफूलाई अब्बल सावित गरे पनि सेमिफाइनलमा निरिह बन्यो । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलको हार खेपेको थियो । नेपाल दोस्रो खेलमा भुटानलाई ४–० गोलले हराएर खेलमा फर्किएको थियो । 

समूहको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक बंगलादेशलाई २–० गोलले हराएपछि नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

यसैगरी माल्दिभ्स समूह ‘बी’ को उपविजेतको रूपमा सेमिफाइनलमा पुगेको थियो । बुधबार नै हुने अर्को सेमिफाइनलमा भारत र पाकिस्तान भिड्नेछन् ।