Newslaya Home

एउटा आधा आकाशलाई अर्को आधा आकाशको डर कहिलेसम्म ?

-​ भूमिका पाख्रिन
बुधबार २७, भदौ २०७५

धेरै साथीभाईहरुले मलाई डन भनेर सम्बोधन गर्नुहुन्छ, डनका परिभाषा व्यक्ति पिच्छे फरक हुन सक्छ । कसैले समाजमा नकारात्मक गतिविधिमा संम्लग्नलाई डनको उपमा देलान्, त कसैले सकारात्मक दृष्ट्रिकोणबाट पनि डनलाई परिभाषित गरेका हुन सक्छन् । 

भलै कारण वा परिभाषा जुन अर्थमा भएतापनि मलाई डन भनिरहँदा मैले उति साह्रो यस शब्दलाई ध्यान दिन्नँ । किनकी आफ्ना साथीभाईको सम्बोधनलाई मैले मायाको एक अंशका रुपमा बुझ्ने गरेको छु । 

सायद मेरो हक्की स्वभाव र ठूलो आवाजले बोल्ने बानीलाई साथीहरुले उक्त सम्बोधन दिएको हुनुपर्छ । 

बजारबाट मेरो घर पुग्न करिब २ किलोमिटर झाडी जंगल पार गर्नुपर्छ, अफिस समय पश्चात विभिन्न संघ संस्थाका बैठक/भेटघाट सकिँदा साँझै परिसकेको हुन्छ । केही समय अघिसम्म बेलुकी एक्लै घर फर्कन मलाई कुनै कुराको रोकटोक थिएन वा भनौ म निर्धक्कका साथ घर फर्कन्थेँ । तर समय बदलियो, त्यो अवस्थामा अहिले छैन । 

किनकी साँझ पर्नु अघि नै घर फर्कनु पर्छ वा साँझ राखिएका संस्थाका मिटिङहरु सकिएपछि २/४ जना साथीलाई घरसम्म पु¥याउन आग्रह गर्नु पर्ने अवस्था छ । मैले यहाँ जोड्न खोजेको कुरा भनेको मेरो स्वभावका कारण डन भनेर साथीहरुले दिएको सम्बोधन सम्झी बेला बेला म आफैलाई अचम्म लाग्छ । 

साँझको बेला बाटो हिड्ने हरेक मान्छे देख्दा डर बोक्नु पर्ने अवस्था छ । हिजोसम्म डर नबोक्ने म जस्ता सयौं युवती आज एकाएक आफूलाई परिर्वतित महसुस गर्दैछन् । समाजमा दिनहुँ घट्ने बलात्कारका घटनाले म जस्ता हजारौ छोरीचेली आज साँझको बेला एक्लै निस्किन ठुलै रिक्स मोल्नु परेको छ, आफ्नै जीन्दगीको । हाम्रा समाजमा दिन प्रति बलात्कार र त्यस पश्चात हत्याका घटनाले हाम्रो मस्तिष्कमा यति डर पैदा गरेको छ भने ति बाल बालिकाहरुका कलिला मस्तिष्कका यस्ता घटनाका दिनहुँ सुनिने समाचारले कस्तो असर परिरहेको होला, अनुमान गर्नुस् त । 

सूचना प्रविधिले सञ्चार साँघुरिएको बेला हाम्रा गाउँ समाजमा भने घरबाट बाहिर निस्कनु अघि १० पटक सोच्नु पर्ने अवस्था छ की भरे घर सकुशल फर्कन सकिन्छ कि सकिँदैन भनि । 

आखिर यस्ता घटना दोहोरिरहदा सरकारले भने यस्ता अपराध हुन नदिन के कस्ता कदम चाहिरहेको छ त ? यो, प्रश्न आम सर्वसाधारणको हो । 

कानुनले जबसम्म बलात्कारीलाई कडा सजायको व्यवस्था गर्दैन तबसम्म यस्ता घटना दोहोरिनै रहनेछन् । बलात्कारीले जबसम्म सरंक्षण पाँउछन्, तबसम्म बलात्कारीहरु खुलेयाम हाम्रै वरपर घुमिरहने छन् । 

आज छिमेकीका छोरी चेली माथी घटेका घटना भोलि हाम्रै घरका छोरीचेली माथि नघट्लान् भन्न सकिन्न । सुरक्षित साथ बाँच्न पाउने अधिकार हामीलाई कसले प्रदान गर्ने ? राज्यले अथवा हाम्रो समाजले ? के छोरी मान्छेले सुरक्षित रुपमा जीवन निर्वाह गर्ने अवस्था अब यो देशमा छैन ? प्रश्न अनगिन्ती रहन्छन्, तर जवाफ भेटिन मुस्किल छ ।

समाज आज कुन दिशातर्फ होमिरहेको छ, हामी सहजै अनुमान लगाउन सक्छौ । देशका जिम्मेवार नागरिक हामी, आधा आकाश हामी, यो सृष्टिकर्ता हामी । तर पनि ए मेरो देश हामीलाई सुरक्षितरुपमा बाँच्न किन दिदैनौ ? एउटा आधा आकाश अर्को आधा आकाशबाट डराएर कहिलेसम्म बस्नुपर्ने ? सशंकित भएर कहिलेसम्म हिड्नुपर्ने ?

एक अर्कामा भरको साटो डर भरिएपछि समाज कसरी विकास हुन्छ ? भर्खर स्वतन्त्रता र आर्थिक, सामाजिक रुपमा सक्रियताको बाटोमा हिड्न थालेका महिलाहरु फेरी खुम्चिने अवस्था आएको छ । 

महिला राष्ट्रपती भएको देशमा दैनिक जसो हुने क्रुर र अमानवीय बलात्कारका घटना रोक्न कुनै उपाय छैन ?