Newslaya Home

मोरङमा ‘लेप्टोस्पाइरोसिस’ रोग फेरि देखियो

मङ्गलबार २६, भदौ २०७५

मोरङ । मोरङमा  ‘लेप्टोस्पाइरोसिस’ रोगको संक्रमण देखा परेको छ । नोबेल अस्पतालमा उपचाररत् एक बिरामीमा ‘लेप्टोस्पाइरोसिस’ संक्रमण देखा परेको हो ।

रंगेली–३ का ५८ वर्षीय होमनाथ काफ्लेको रगत परीक्षण गर्दा ‘लेप्टोस्पाइरोसिस’ भेटिएको अस्पतालले जनाएको छ । 

मुसाको पिसाबबाट सर्ने ‘लेप्टोस्पाइरोसिस’ कै कारण गत वर्ष मोरङमा दुई जनाको मृत्यु भएको थियो । सुन्दरहरैंचा–५ स्थित फोकलान टापुमा यो रोगबाट दुई बालबालिकाको मृत्यु भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पुष्टी गरेको थियो  । 

सुरूमा टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिन्छन् । विस्तारै यसले रगत, कलेजो र मिर्गौलामा असर पार्छ। समयमै पत्ता लागे यो रोग निको हुन्छ। तर, ढिलो भए बिरामीको ज्यान बच्न मुस्किल हुने जनाइएको छ ।

मुसाको बढी सक्रियता हुने ठाउँमा खाली खुट्टा हिँड्दा जोखिम हुन्छ। खुट्टामा कुनै चोटपटक छ भने भाइरस त्यहाँबाट शरीरमा प्रवेश गर्ने शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले बताएका छन् ।

यो रोग मुसा र छुचुन्द्राहरूबाट बढी सर्छ । घरपालुवा जनावरमा संक्रमण भएमा पिसाबबाट मानिसमा सर्छ । मानिसबाट अर्को मान्छेमा भने यो रोग नसर्ने चिकित्सक बताइएको छ ।