Newslaya Home

​यसकारण खानुहोस् च्याउ

मङ्गलबार २६, भदौ २०७५

च्याउमा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ पाइन्छ । च्याउको सेवन गर्नाले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । 

थोरै क्यालोरी र थोरै चिल्लो पदार्थका साथै प्रसस्त पोषक तत्व पाइने च्याउलाई स्वास्थ्यका हिसाबले उपयुक्त तरकारी मान्न सकिन्छ । अन्य तरकारीमा जस्तै च्याउमा पाउने एन्टिअक्सिडेन्टले क्यान्सर लाग्न दिँदैन ।

त्यसैगरी, च्याउमा प्रसस्त मात्रामा पाइने ‘सेलेनियम’ नामको खनिज पदार्थले कलेजोको काममा सहयोग पुर्याएर क्यान्सर जन्य पदार्थलाई शरीरबाट निस्कासन गर्न मद्दत गर्छ । सेलेनियमले रोगप्रतिरोगी क्षमता वृद्धि गर्न सहयोग गर्छ ।

च्याउमा पाइने ‘फोलेट’ नामक भिटामिनले शरीरमा वंशाणु तहमा हुने काममा मद्दत गरी क्यान्सर लाग्ने प्रक्रियामा वाधा पुर्‍याउने देखिएको छ ।

च्याउमा भिटामिन डी पनि पाइन्छ । जसले शरीरका विभिन्न काममा फाइदा पुर्‍याउँछ । भिटामिन डीले च्याउमै पाइने फस्फोरस र क्याल्सियमको पाचन प्रक्रियामा मद्दत पुर्‍याउँछ । तसर्थ हड्डीको समस्या भएका र वृद्धहरुले च्याउलाई घाममै सुकाएर खाएमा धेरै लाभ लिन सक्छन् ।

च्याउमा केही मात्रामा ‘आइरन’ पनि पाइन्छ, जसले हाम्रो शरीरको सोस्न सक्ने क्षमतालाई बढाउँछ । तसर्थ च्याउको सेवनबाट रक्तअल्पता भएका व्यक्तिलाई फाइदा पुग्छ ।

च्याउमा प्राकृतिक रुपमै ‘इन्सुलिन’ पाइन्छ । चिल्लो पदार्थ र कलेस्टेरोल नहुने भएकाले चिनीरोगीका लागि च्याउ उपयुक्त आहार मानिन्छ ।

च्याउमा प्रसस्त मात्रामा ‘पोटासियम’ पनि पाइन्छ । पोटासियम धेरै पाइने र सोडियम थोरै पाइने भएकाले मुटुरोग र रक्तचापका बिरामीका लागि उपयोगी हुन्छ ।

च्याउमा हाम्रो शरीरमा आवश्यक पर्ने ‘फाइबर’ हुन्छ । ढुसी प्रजातिमा पाइने फाइबर (बिटा ग्लुकान र काइटिन)ले भोक कम लगाउन मद्दत गर्छ ।

उच्च प्रोटिन र कम कोलेस्टेरोल हुने भएकाले मोटोपना भएका व्यक्तिका लागि च्याउ उपयुक्त खानेकुरा हुन सक्छ ।

यसैगरी, च्याउमा भिटामिन बी पनि प्रसस्त मात्रामा पाइन्छ, जसले हाम्रो शरीरका विभिना काममा मद्दत पुर्‍याएर हामीलाई स्वस्थ राख्न मद्दत गर्छ ।