Newslaya Home

अन्तर्राष्ट्रिय परिकारको स्वाद अर्किड किचनमा

सोमबार २५, भदौ २०७५

धरान । सुँगुरको सेकुवा, पोलेको कान पाईने बगरकोटमा अहिले अन्तर्राष्ट्रिय परिकारहरु पनि भित्रिन थालेको छ । 

पछिल्लो समय बगरकोटमा खोलिएका होटलहरुमा गुणस्तरिय परिकारको प्रतिष्पर्धा चल्न थालेपछि स्वदेशी र विदेशी परिकारहरु पनि भित्रिएको छ । 

सोमबारदेखि औपचारिक रुपमा खोलिएको अर्किड किचनले प्राउन स्ट्रीम माछा, थाई स्ट्रीम माछा, बेक्ड माछा, लसुन पोलेको, आलुपोलेको जस्ता  नयाँ परिकारको साथमा अर्किड किचनको सुरुवात  गरेको छ । बगरकोट भन्ने बितिकै सबै मानिसहरूले सेकुवा मात्र पाईन्छ भन्ने सोँचलाई परिवर्तन गर्दै अर्किडमा नयाँ परिकार सहितको होटल सञ्चालनमा ल्याएको सञ्चालक दिलिप राईले बताए । 

किचनको सोमबार धरान उपमहानगरपालिकाका १५ का वडा अध्यक्ष नरेश कुमार ईवारामले उद्घाटन गरेका छन् । शान्त तथा पारिवारिक वातावरणमा अन्य होटलकोभन्दा बेग्लै परिकार र स्वादका परिकारहरु पाईने राईले बताए । अर्किड किचन करिब ३० लाखको लगानीमा दिलिप राई, धर्म लिम्बू, सुशील सुनुवार, सुक्र लिम्बुले खोलेका हुन् । किचनमा २१ जनाले रोजगारी पाएका छन् ।

होटलको उद्घाटन गर्दै वडा अध्यक्ष ईवारमले शान्ती सुरक्षाको बेवास्ता गर्दै बगरकोटलाई चाँडै नै रात्रीकालिन बजारको अवधारणा अनुसार विकास गरिने बताए । कार्यपालिकाको बैठकमा छलफल गर्ने तथा प्रहरी प्रशासनमा पनि शान्ति सुरक्षाका लागि चाँडै नै छलफल  अगाडि बढाउने प्रतिबद्धता जनाए ।