Newslaya Home

वनस्पति घ्यू उद्योगले अब तेल उत्पादन गर्ने

सोमबार २५, भदौ २०७५

हेटौंडा । लामो समयदेखि बन्द रहेको नेपाली वनस्पति घ्यू उद्योग लिमिटेडले तोरीको तेल उत्पादन गर्ने भएको छ । विभिन्न कारणले करिब १ दशक अगाडि बन्द भएको सो उद्योगले असोजको अन्तिम सातासम्म तोरीको तेल उत्पादन गर्ने बताएको छ ।

हेटौंडा औद्योगिक क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्वामित्वमा रहेको सो उद्योगले तोरीको तेल उत्पादन गरी उद्योग सञ्चालन गर्न चीनबाट रू.१७ लाखको लागतमा आवश्यक मेशिनसमेत खरीद गरेको बताइएका छ । 

उद्योग सञ्चालन गर्न करीब रू. ४० लाख लगानी भइसकेको उद्योगका महाप्रबन्धक मुकुन्द जोशीले जानकारी दिए । चीनबाट आयातित मेशिनको दैनिक १ सय ५० टन तोरीको तेल उत्पादन क्षमता रहेको बताइएको छ ।

उद्योगले अब वनस्पति घ्यू उत्पादन नगर्नेसमेत जानकारी दिएको छ । तोरीको तेल उत्पादन परीक्षण राम्रो भएमा थप लगानीसमेत गर्ने उद्योग व्यवस्थापनको भनाइ छ । २०३३ मा स्थापना भएको उद्योगले २०३९ साउनदेखि शान्ति वनस्पति घ्यू, गृहिणी वनस्पति घ्यू र शान्ति सोयाबिन तेल उत्पादन गर्दै आएको थियो ।