Newslaya Home

​बुवा, अर्थात् जिउँदो भगवान

-भूमिका पाख्रिन
आइतबार २४, भदौ २०७५

“मेरो छोरीलाई त पछि नेता बनाउने होे” यी शब्द मेरो मानसपटलमा अझै ताजै छ । मेरो बाबाले म सानो छँदा अक्सर साथीभाईका माझ बोल्ने गर्नुहुन्थ्योे । 

हुन पनि बाबाले छोरी ठुलो भएपछि नेता बन्नु पर्छ है भनेर बारम्बार मलाई भनिराख्नु हुन्थ्यो । सानैबाट राजनीतिक दलका ठुल्ठुला सभा समारोहमा मलाई पनि साथै लैजानुहुन्थ्यो । 

नेताका चर्का भाषण सुनेर हुर्केकी मैले सानो छँदा बाबाको सपना पुरा गर्छु भनेर धेरै ठाउँ तिमी ठुलो भएर के बन्छौ भूमिका भनेर सोध्दा निर्धक्क भएर नेता बन्छु भन्ने जवाफ फर्काउथेँ । 

मेरो उत्तर सुनेर सबैजना हाँस्थे । 

किनकी आफू ठुलो भएपछि के बन्ने भन्ने प्रश्न तेर्सिदा हेरक बाल मस्तिष्कबाट डाक्टर, पाइलट, इञ्जिनियर भन्दा खासै फरक उत्तर आउदैन थियो । मेरो बाबाको चाहना राजनीतिक दलसँग आवद्ध रही देश विकासमा लाग्नु पर्छ भन्ने थियो ।

युवाहरुले नेतृत्व गरी देश विकास गर्ने हो, देशलाई समृद्ध बनाउने हो भन्नुहुन्थ्यो । देश मै रहेर देशको उन्नती र प्रगतिमा लाग्नुपर्छ भन्ने भाव हामीमा फैलाईरहनु हुन्थ्यो । 

यद्धपी आज पनि मेरो बाबाको त्यो सपना जस्ताको त्यस्तै छ । तर समय बदलियो, मेरा इच्छा आकांक्षा पनि बदलिए । नेता बन्ने अबको मेरो योजना रहेन । तर राजनीतिक आस्था चाहिँ छ । अनि पछि समयले त्यो भूमिका मागेको खण्डमा यो भूमिका त्यो भूमिका निर्वाह गर्न पछि पर्दिनँ । किनकी त्यो सपना मेरो बुवाले सानैदेखि सुन्दै आउनुभएको सपना हो ।

बुवा, हरेक दुःख कष्ट पीडालाई झेल्दै आफ्ना सन्ततीका खातिर थोरै खुशीका त्यान्द्रा बटुल्न रगत, पसिना सबै एक गर्ने मान्छे । 

जसको मेहेनतलाई शब्दमा वर्णन गर्न सकिँदैन । हाम्रा बुवाले हाम्रो सुखद भविष्यका लागि गर्नु भएको मेहेनत, परिश्रम र हामीलाई उचाईमा पु¥याउन आफ्ना स–साना खुशीलाई कुल्चेर गर्नुभएको संघर्षको गुण जिन्दगीभरी तिरेरै नसकिने ठूलो ऋण पनि हो । त्यस्तो ऋण, जुन फिर्ता पाउने आशा बुवाले कहिल्यै गर्नुहुन्न । दिइमात्र रहने एउटा त्यागी दानवीर हो बुवा ।

धेरैले भन्छन्, बुवाको लागि सन्तान अनि त्यसमा पनि छोरी खास हुन्छन् रे । हो, मलाई पनि त्यस्तै लाग्छ । मेरा बुबा मलाई धेरै माया गर्नुहुन्छ । र मेरा हरेक कुराको ख्याल राख्नुहुन्छ । भाग्यवश मेरो बुवा र म बिच धेरै कुरा समान छन् । खाने, लाउने, बोल्ने मात्र नभई हरेक व्यवहारपनि मिल्छन् । यसअर्थमा बुवा मेरो मिल्ने साथी पनि हो ।

हाम्रा बुवाहरुले हामीलाई यति माया गर्नुहुन्छ, हाम्रा बुवा साँच्चै हाम्रा लागि देखिने भगवान हुन् । भगवानलाई त बरु हामीले केही कुरा मागेपछि मात्र पाउँछौ । तर बुवाले हाम्रो इच्छा आकांक्षा बुझेर हरेक खुशी बटुलिदिन सदैव मेहेनत गर्नुहुन्छ ।

हाम्रा जन्मदिन/चाडबाड/नयाँ वर्ष लगायत हरेक पर्वमा बुवा हामीलाई नयाँ कपडा किनिदिनु हुन्छ, हाम्रा स साना खुशीका लागी बुवाका कति जोर कपडा च्यातिए हामीलाई पत्तो पनि हुन्न । तर बुवालाई हामीलाई समय समयमा के खान मन लाग्छ, त्यो थाहा छ ।

त्यसैले बुवा जस्तो व्यक्तिलाई हामीले वर्षको एक दिन सम्मान गर्नुभनेको त्यो त्याग, बलिदान, प्रेम र स्नेहको अपमान हो । बुवाको मुख हेर्ने दिन एउटा प्रतिक हुन सक्ला । तर बाँकी दिनपनि बुवालाई माया सम्मान र आदर गर्न सक्ने मानिस मात्र वास्तविक मानव हृदय भएको प्राणि हो । वुवालाई वर्षैभरी सम्मान गर्न नसक्ने प्राणि मानिस होइन ।

आफ्ना सन्ततीलाई नेता वा नेतृ बनाउने सपना कमै बुवाआमाको हुन सक्ला । हरेकका बुवाका आफ्ना छोराछोरी प्रतिको सपना फरक हुन सक्छ । बुवाका सपना चाहे जेसुकै हुन्, जोकोहीका बुवाले आफ्ना सन्ततीको कुभलो कहिले सोच्दैनन्, सोच्नै सक्दैनन् ।

आज बुवाको मुख हेर्ने दिन, शब्दहरु खासै केही छैनन् । राजनीतिक दलको नेत्तृत्व गर्न त नसकुँला, तर मेरो जीवनलाई सरल सहज र सही ढँगले नेतृत्व गर्नु सँकु, देशको जिम्मेवार नागरीक बन्न सँकु । सो क्रममा बुवाको माया सधैं पाइरहुँ ।

स्नेहको ठूलो सागर मेरोलागि कहिल्यै नरित्तिओस् । मेरो मन भित्रको बुवा प्रतिको श्रद्धा सधै यस्तै रहनेछ, सधैभरी यसैगरी ।