Newslaya Home

​पुर्वराजा ज्ञानेन्द्र टप टेन अर्बपती भएको समाचार फेक, कसरी झुक्किए मिडिया ?

शुक्रबार २२, भदौ २०७५

फोर्ब्सले नेपालका १० धनाढ्यहरुको सूची सार्वजनिक गरेको र उक्त सूचीमा अर्बपति विनोद चौधरीदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्म परेको समाचार केही समयअघि भाइरल भयो ।

नाम चलेका केही र नचलेका धेरै अनलाइनहरु र पत्रिकाहरुले समाचार बनाए । तर यो सुची फेक हो र समाचार पनि । किनकी फोब्र्सको अर्बपती सुचीमा नेपालबाट विनोद चौधरीबाहेक कोही परेकै छैन ।

नेपालका टप १० धनाढ्यहरुको सूचीमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई सबैभन्दा तल १० नम्बरमा राखिएको थियो भने राजेन्द्र खेतान जस्ता हाल चुप बसेका व्यवसायीलाई उनीभन्दा माथि राखिएको समाचार भाइरल बनेको थियो । 

त्यस समाचारमा ज्ञानेन्द्र शाह, राजेन्द्र खेतान, बलराम चाइनराई, पशुपतिशम्शेर राणा, जीवा लामिछाने, आदित्य झा, अजय सुमार्गी, उपेन्द्र महतो, शेष घले र विनोद चौधरीको नाम उल्लेख गरिएको छ ।

तर यो फेक न्युज हो । फोर्ब्सले नेपालका धनाढ्यहरुको कुनै अलग सूची निकालेको छैन । फोर्ब्सको अनलाइनमा यस्तो कुनै सुची छैन । फोर्ब्सले डलर अर्बपतिहरुको मात्र सूची निकाल्छ र त्यसमा अहिलेसम्म परेका एक मात्र नेपाली भनेको विनोद चौधरी हुन् । 

वास्तवमा यो सुची फोब्र्स १० नामक वेवसाइटमा छ । जुन अर्बपतिहरुको नाम निकाल्ने फोब्र्स डट कम होइन । फोब्र्स १० चर्चाको लागि खोलिएको फेक साइट हो । यो साइटको टाउकोमा फोर्ब्स लेखेको देखेपछि बुझ्नु न सुझ्नु ट्रान्सलेट गरेर हान्दिए एक जनाले । 

(सन्दर्भ स्रोत : माइसंसार)