Newslaya Home

​कसरी पाए बलात्कारको घटना मिलाउने एसपी माझीले पदक ?

बुधबार २०, भदौ २०७५

इटहरी । इटहरीमा भएको बालिका बलात्कार काण्ड मिलाउन भुमिका खेलेका एसपी विद्याननद माझीलाई नेपाल सरकारले राष्ट्रिय महत्वको पदक दिएको छ । 

प्रबल जनसेवाश्री पदकबाट उनलाई सरकारले विभुषित गरेको हो । बलात्कारको घटना मिलाउन भुमिका खेलेको आरोपमा छानविनको लागि उनी निलम्बनमा परेका थिए ।

गत माघ २३ गते जिल्ला प्रहरी कार्यालय सुनसरी प्रमुखका रुपमा कार्यरत रहेको समयमा निलम्बनमा परेका माझीको तीन महिनापछि निलम्बन फुकुवा गरिएको थियो । उनी हाल डोटीमा कार्यरत छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शीतल निवासमा उनीलगायत ३ सय ४४ जनालाई विभिन्न मानपदवी वितरण गरेकी थिइन् ।

प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन गरी तीन महिनासम्म निलम्बन गरेर ग्रेड रोक्का गरी कारबाहीमा परेका एसपी माझीले विभुषण कसरी पाए ? 

‘अघिल्लो वर्ष नै उनलाई विभूषण दिने निर्णय भएकाले हामीहरुले हटाउन सकेनौं,’ गृहका एक अधिकारीले भने । तर, अघिल्लै वर्ष दिने निर्णय भएका पूर्वमुख्यसचिव सोमलाल सुवेदी र गोपीकृष्ण शर्माको नाम मन्त्रीपरिषद् बैठकले हटाउँदा माझीको नाम हटाउनेतिर भने कसैले ध्यान दिएन । 

अन्ततः माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै राष्ट्रपतिको हातबाट दिइने विभूषण पाइछाडे । उनको निलम्बन फुकुवा भएपनि माझीको ग्रेड रोक्का गरिएको छ । त्यसैले उनी प्रहरी संगठनबाट कारवाहीमा परेका व्यक्ति हुन् ।

गत पुस १६ गते इटहरीस्थित एक होटलमा भएको १४ वर्षिया बालिका बलात्कारको घटनाको मुद्धा दर्ता नै नगरी मिलापत्र गराएको विषयमा एसपी माझी इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर दाहाललाई निलम्बन गरिएको थियो । 

बलात्कारको घटनालाई मिलापत्र गर्न नपाइने कानुन विपरीत मिलापत्र गरिएपछि इटहरी वडा नं. २० का वडाध्यक्ष मणिराम श्रेष्ठ लगायत नेपाली काँग्रेसका नेताहरुसमेत विवादमा तानिएका थिए । 

1 प्रतिकृयाहरू प्राप्त
  • राम नातायन यादवलेख्नुहुन्छ
  • |
  • बुधबार २०, भदौ २०७५ ०६:१४
वलात्कार प्रवर्द्धन कार्यक्रम अन्त्तर्गत विशिष्ट कार्य गरेको ले उनलाइ पदक दिनु पर्ने आवश्यक भएको हुदा पदक प्रदान गरिएको हुनु पर्दछ ।