Newslaya Home

​स्थानीय तहलाई सरकारले निःशुल्क मोबाइल एप्स दिने

बुधबार २०, भदौ २०७५

काठमाडौं । स्थानीय तहलाई निःशुल्क रुपमा मोबाइल एप्स उपलब्ध गराइने भएको छ । सूचना प्रविधि विभागसँगको सहकार्यमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एप्स उपलब्ध गराउने भएको हो ।

एप्समा स्थानीय तहको सङ्क्षिप्त परिचय र तथ्याङ्क, भौगर्भिक सूचना प्रणाली (जीआईएस), जनप्रतिनिधिको तस्वीरसहितको सम्पर्क विवरण, सबै वडाहरुको नक्शासहितको वस्तुगत विवरण र सम्पर्क विवरण, ऐन कानून निर्देशिका, आपतकालीन नम्बर र योजना तथा परियोजनाका बारेमा जानकारी राख्न सकिनेछ । 

एप्स प्रयोगकर्ताले स्थानीय तहले नागरिक बडापत्रअनुसार प्रदान गर्ने सम्पूर्ण सेवाको विवरण एकै क्लिकमा प्राप्त गर्नेछन् । 

कार्यक्रम तथा परियोजनाको विवरण प्राप्त गर्न, अध्ययन र सुरक्षित राख्न सहयोग मिल्ने छ । स्थानीय तहअन्तर्गत रहेका महत्वपूर्ण स्थानजस्तै अस्पताल, शैक्षिक संस्था, पर्यटनस्थल आदिको विवरण पनि एप्समार्फत थाहा पाउन सकिनेछ ।