Newslaya Home

​नेपालमा जनसंख्याभन्दा बढी टेलिफोन प्रयोगकर्ता

शनिबार १६, भदौ २०७५

काठमाडौं । नेपालमा ३ करोड ८३ लाखभन्दा बढी मोबाइल प्रयोगकर्ता भएको तथ्यांक सार्वजनिक भएकोछ । यो नेपालको जनसंख्या (३ करोड) भन्दा बढी हो । केही मोबाइल प्रयोगकर्ता निष्क्रिय भएको हुनसक्ने बताइएको छ ।

गत असारसम्मको तथ्यांकअनुसार मोबाइल सेवातर्फ विक्री वितरण भएको जीएसएम सिमको संख्या मात्र ३ करोड ६२ लाख छ । २० लाख ६२ हजारभन्दा बढी सीडीएम प्रविधिका प्रयोगकर्ता छन् ।

नेपाल टेलिकमका सबै किसिमका टेलिफोनका प्रयोगकर्ता १ करोड ९९ लाख ८० हजार छन् । एनसेलले १ करोड ६५ लाख सेवाग्राही रहेको दावी गरेको छ ।

एउटै व्यक्तिले दोहोरो सिम, रिम र फिक्स्ड टेलिफोन सेवा प्रयोग गर्दा पनि फरक फरक गणनामा हुँदा टेलिफोन सेवाग्राहीको संख्या नेपालको कुल जनसंख्याभन्दा झण्डै ३४ प्रतिशत बढी देखिएको छ । 

अझै धेरै विकट स्थानमा मोबाइलसहितको टेलिफोन सेवाको पहुँच पुगेको छैन । त्यसैले कति मानिससँग टेलिफोनको उपलब्धता छ भन्ने विषयमा जानकारी कुनै निकायले दिन सकेको छैन ।

यूटीएलले ५ लाख २६ हजारलाई सेवा दिइरहेको छ । स्याटेलाइट टेलिमकको हेल्लो नेपालका प्रयोगकर्ता ३ लाख २८ हजार छन् भने स्मार्टका १८ लाख ५१ हजार ।

नेपालमा मोबाइल सेवाका प्रयोगकर्ता सस्क्राइबरको संख्या जनसंख्या भन्दा ३० प्रतिशत बढी भइसकेको छ । प्रत्येक कम्पनीका सेवा सस्क्राइबर गर्नेलाई एउटा व्यक्तिमा गणना गर्दा तथ्यांकको दोहोरोपनाका कारण यस्तो देखिएको  दूरसञ्चार प्राधिकरणले जनाएको छ ।