Newslaya Home

​कामचोर ड्राइभरलाई तह लाउन सवारीमा ट्राकिङ डिभाइस, यसरी गर्छ काम

बिहीबार १४, भदौ २०७५

इटहरी । आफ्नो सवारी साधन ड्राइभरको भरमा छाड्ने धेरै सवारीधनीहरु आफ्नो सवारी कसरी चलिरहेको छ भन्ने विषयमा थाहा पाउँदैनन् । खासगरी ट्याक्सीधनीहरु यस्तो समस्याले पिरोलिएका छन् । एकातिर जान्छु भनेर ड्राइभरले अर्कैतिर सवारी साधन लाने, व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने र इन्जिन चलाएर एसी खोलेर कतै गएर दिनभर सुतिदिने गर्छन् । जसबाट सवारीधनीलाई आर्थिक भार मात्र पर्दैन, आम्दानीसमेत हुँदैन ।

यस्तो समस्या समाधान गर्न टेलिमेटिक्स टेक प्रा. लि. ले पूर्वमा ट्राकिङ डिभाइस ल्याएको छ । यस्तो डिभाइस जडान गरिएको सवारी साधन कुन अवस्थामा कहाँ छ र कता जाँदैछ भनेर सवारी धनीले थाहा पाउन सक्नेछन् । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गर्दै जियोमेट ट्रयाकिङ्ग प्रणालीबारे जानकारी दिएको हो ।

सवारी साधनमा जडान गरेपछि यो उपकरणले उक्त सवारी साधन कहाँ छ र कता गइरहेको छ भन्ने विषयमा जानकारी दिनेछ । यस्तै यो डिभाइस लगाइएको गाडीको इन्जिन चालु छ वा बन्द छ भन्ने पनि थाहा पाउन सकिन्छ । यस्तै गाडीलाई स्टार्ट नहुनेसमेत बनाउन सकिने टेलिमेटिक्सका आतिस गैरेले जानकारी दिए ।

मोबाइलबाटै आफ्नो गाडीको विस्तृत विवरण लिन र नियन्त्रण गर्न सकिने हुँदा धेरै सवारी साधन भएका ठूला संघसंस्थाको लागि यो अझ उपयोगि हुन्छ । ‘हाम्रो सफ्टवेयरको प्रयोग गरेपछि आफ्नो गाडीको इन्धन २० प्रतिशतसम्म बचत भएको संघसंस्थाहरुले प्रतिक्रिया दिएका छन्,’ उनले भने, ‘इन्जिन स्टार्ट गरेर बसिरहने चालकहरु र एक ठाउँ जान्छु भनेर अर्कै ठाउँ गएर सवारीधनीलाई झुक्याउने चालकहरु यो डिभाइसबाटै नियन्त्रित हुन्छन् ।’

सफ्टवेयर डाउनलोड गरेर हरेक गतिविधिको जानकारी दिने उपकरणको मुख्य विशेषता भएको पनि जानकारी दिईएको छ ।

सवारीका साधनसँगै मानिसमा पनि यस्तो ट्राकर लगाउन सकिने जानकारी संस्थाका पदम न्यौपानेले दिए । उनका अनुसार बालबालिका र विद्यार्थीमा यो सफ्टवेयर विशेष उपयोगि हुन्छ । ‘बालबालिका हराएमा यो डिभाइसको मद्धतबाट थाहा पाउन सकिन्छ,’ उनले भने । 

इटहरीका स्थानीय विक्रेता विवेक श्रेष्ठले १० देखि २० हजार रुपैया खर्च गर्दा मोवाईल एप्सबाट सवै घर बाहिरका गतिविधिको निगरानी राख्न सकिने जनाए ।