Newslaya Home

​प्रिमियर लिगको उद्घाटन खेलमा म्यानचेस्टर युनाइटेडको जित

शनिबार २६, साउन २०७५

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको उद्घाटन खेलमा जोसे मोरिन्होको म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ ।

घरेलु मैदानमा वल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हराउँदै लिगमा प्रभावशाली सुरुवात गरेको हो ।

गएको महिना रुसमा भएको विश्वकप फुटबलको उपाधि उचालेको फ्रान्सका पउल पोग्बाको कप्तानीमा म्यानचेस्टर युनाइटेड मैदानमा उत्रिएको थियो ।

पोग्बाले कप्तानी मात्रै नभई टिमका लागि यो सिजनको पहिलो गोल पनि समेत गरेका थिए । उनले तेस्रो मिनेटमा नै पाएको पेनाल्टीमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका हुन् ।

खेलको दोस्रो मिनेटमा नै एलेक्स सान्चेजको प्रहार सम्हाल्ने क्रममा लेस्टर सिटीका डानिएल अमार्टेयले फउल गरेपछि युनाइटेडले पेनाल्टी पायो । पेनाल्टीमा पोग्बाले गोल गरेका हुन्। 

पहिलो हाफमा १–० को अग्रता लिएको युनाइटेडले खेलको सात मिनेट बाँकी हुँदा अग्रता दोब्बर पार्‍यो । ८३ औँ मिनेटमा ल्युक शोवले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । आन माटाको एरियल पासलाई उनले गोलमा परिणत गरेका हुन् । लेफ्ट–ब्याक ल्युकको यो सिनियर करिअरमा पहिलो गोल हो ।