Newslaya Home

​डाक्टरको लापरवाहीका कारण बिरामीको मृत्यु भए ५ वर्ष जेल

शनिबार २६, साउन २०७५

काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु भए डाक्टरलाई जेल सजाय हुने भएको छ ।   भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ मा डाक्टरको हेलचेक्र्याइँबाट मृत्यु वा अंगभंग भएमा त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

यदि लापरवाहीपूर्ण कारणबाट ज्यान मर्न गएमा वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा व्यवस्था गरिएको छ ।

मुलुकी ऐनमा भन्दा मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकको लापरवाहीको विषयमा स्पष्ट व्यवस्था र कारबाही कडा पारिएको छ । डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएमा पीडितले जहिलेसुकै पनि उजुरी गर्न सकिने व्यवस्था गरीएको छ ।

बदनियतपूर्वक उपचार गर्दा मृत्यु भए जन्मकैद

नेपालका कतिपय अस्पतालमा विरामीको रोग नै थाहा नपाई उपचार गरेको घटना पनि हुदै आएको छ । अब डाक्टरको यस्तो हेलचेक्र्याईले बिरामीको मृत्यु भएमा जन्मकैदसम्म हुन सक्ने व्यवस्था मुलुकी अपराध संहितामा गरिएको छ । यदि यस्तो हेलेचेक्र्याइँले अंगभंग भएमा भने १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा गरिएको छ ।

म्याद नाघेको औषधी बिक्री गरे एक वर्ष कैद

मुलुकी अपराध संहितामा म्याद नाघेको औषधी बिक्री वितरण गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था राखिएको छ । यदि म्याद नाघेको औषधीले क्षति भएमा क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था छ ।