Newslaya Home

​भूमाफियाहरुबाट धरानलाई जोगाउने घोषणा

शुक्रबार २५, साउन २०७५

धरान । जनसरोकार मञ्च धरानले सर्दु जलाधार तथा धरान बचाउँ अभियान सुरु भएको घोषणा गरेको छ । भुमाफियाहरुबाट सर्दु जलाधार क्षेत्र जोगाउने माग गर्दै अभियान सुरु गरिएको हो ।

धरान उपमहानगरपालिकाको जग्गामा कर्मचारीको मिलेमतोमा भुमाफियाहरुको चलखेल बढेको भन्दै मञ्चले बचाउँ अभियान शुरु गरिएको जनाएको छ । सर्दु जलाधार क्षेत्र, बसपार्क बनाउन जनताले दिएको जग्गा र एयरपोर्टको जग्गामा भुमाफियाको चलखेल भएको आरोप थियो ।

भुमाफिया र भ्रष्ट्राचारीहरुको विरुद्ध जनतालाई सचेत गराउँदै अभियान अघि बढ्ने मञ्चका संयोजक कृष्ण नारायण पलिखेले धरानमा आयोजित पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘जनप्रतिनिधी आएपछि भुमाफिया र भ्रष्ट्राचार विरुद्ध निर्णय हुनेछ तर उल्टै उनीहरुलाई नै सहयोग गरे ।’ उनले थपे, ‘बसपार्क बनाउने भन्दै ढाँटेर जनताले दिएको जग्गामा नमुना बस्ती बसाउन भुमाफिया र कर्मचारी मिलेर जग्गा लिए ।’ 

उनका अनुसार एयरपोर्टको बनाउने भनेर लिएको जग्गा ६ महिनामा एयरपोर्ट नबने जग्गा फिर्ता गर्ने भनेकोमा अहिलेसम्म जनताले उपभोग गर्न पाएको छैनन् । उनले भने, ‘हामीले पहिले देखिनै विरोध गर्दै आए पनि सम्बन्धीत निकायले बेवास्ता गरेको छ ।’

अवैज्ञानिक रुपमा २०६७ सालमा धरान उपमहानगरपालिकाले कर वृद्धि गरे पछि विरोधमा उत्रिएको मञ्चले खानेपानी परियोजना, सर्दु जलाधार क्षेत्र, बसपार्क स्थल विवाद, एयरपोर्टमा जग्गा अतिक्रमण लगायतका विषयमा सचेतनामुलक कार्यक्रमहरु गर्ने जनाएको छ । प्रदेश सरकार सहित संघीय सरकारलाई १४ बुँदे माग राख्दै ध्यानाकर्षण गराउने बताएको छ ।
 
मञ्चले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २०७३ फागुन ५ गते १४ बुँदे ध्यानाकर्षण पत्र पनि बुझाएको थियो । धरानको खानेपानी परियोजनामा देखिएको भ्रष्ट्रचार, बसपार्क निर्माणमा कर्मचारीको मनपरितन्त्र, एयरपोर्टको जग्गा फिर्ता पाउनुपर्ने, धरान १४ स्थित गोपाल मन्दिरको संरक्षण लगायतका बुँदाहरु समावेश गरिएको थियो । 

मञ्चले स्थानीय निकायहरुमा पनि ध्यानाकर्षण पत्र बुझाएको छ । तर कतै बाट पनि सुनुवाई नभएको उनले गुनासो गरे । उनले भने, ‘यो अभियानबाट आम नागरिकहरुलाई सचेत गराउँदै प्रदेश सरकार र संघीय सरकारलाई ध्यानाकर्षण गराउँदै र शान्तिपुर्ण आन्दोलनमा उत्रने छौं ।’