Newslaya Home

​आर्थिक संकटका कारण बिक्री भयो सौर्य एयरलाइन्स

शुक्रबार २५, साउन २०७५

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक सौर्य एयरलाइन्स बिक्री भएको छ । स्थापना भएको चार वर्षमै एयरलाइन्सको अहिलेको व्यवस्थापन बिक्री गर्ने निष्कर्षमा पुगेको हो । 

एयरलाइन्स बिक्री सम्बन्धि हस्ताक्षर भइसकेको र रकम भुक्तानी हुनमात्र बाँकी रहेको सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए । 

जेट इन्जिन भएका जहाजबाट आन्तरिक हवाई सेवा सुरु गरेको एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा परेको थियो । नोक्सानी बढ्दै जाँदा बैंकको व्याज, कर्मचारीलाई तलब र इन्धनको बक्यौता नै धेरै हुन थालेपछि उडान कटौति गर्दै आएको थियो ।

चीनमा व्यापार व्यवसाय गर्दै आएका श्याम अधिकारीको नेतृत्वमा उक्त एयरलाइन्स खरिद भएको हो । 

सौर्य एयरलाइन्सको ऋण धेरै भएको र नयाँ व्यवस्थापनले त्यसमा ६१ करोड मात्र स्वीकार गर्ने बताएको छ । एयरलाइन्स सञ्चालन गर्दा व्यवस्थापन टिममा पनि नयाँ हुने बताइएको छ ।

यद्यपी पुरानो टिमको पनि केही सेयर स्वामित्व हुने पोखरेलले जानकारी दिए ।

एयरलाइन्सले दैनिक सात उडान गर्न पाउने गरी अनुमति पाएको छ ।
जहाजबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा नियमित उडान गरिरहेको सौर्यले पछिल्लो समय एउटा मात्र जहाजबाट उडान गरिरहेको थियो ।

लामो समयदेखि जहाजमा प्राविधिक समस्या आएपछि एउटा मात्र जहाजबाट उडान गरिरहेको एयरलाइन्सले पछिल्लो समय उडान रोकेको छ ।