Newslaya Home

​हरियो स्टिकर बिनाका गाडीलाई भदौदेखि बन्देज

शुक्रबार २५, साउन २०७५

काठमाडौं । भदौदेखि  ‘हरियो स्टिकर’ नभएका गाडीलाई सरकारले पूर्णरूपमा बन्देज लगाउने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भदौ पहिलो सातादेखि ‘हरियो स्टिकर’ प्राप्त नगरेका चारपांग्रे सवारीसाधनलाई रोक लगाउने निर्णय गरेको हो । 

पुराना इन्जिन र चेकजाँच नगरेका गाडीबाट निस्केको धूवाँबाट वायु प्रदूषण बढेको उल्लेख गर्दै मन्त्रालयले भदौ १ बन्देज गर्न लागेको जनाएको छ ।
 
पहिलो चरणमा काठमाडौं उपत्यकासहित मुलुकभरका महानगर र उपमहानगरमा हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारीसाधनमा रोक लगाउने निर्णय गरेको यातायात व्यवस्था विभागका प्रवक्ताले जानकारी दिएका छन् ।

उनले कुनै सवारीसाधन प्रदूषण मापदण्ड चेकमा फेल भयो भने तत्काल सञ्चालनमा रोक लगाउँने बताएका छन् । इन्जिन मर्मत नगरेका गाडी सडकमा गुडिराखेकाले त्यस्ता गाडीलाई नियन्त्रणमा लिई तत्काल जरिवाना गर्ने समेत उनले बताएका छन् ।

गत वैशाख १ देखि नै मन्त्रालयले त्यस्ता गाडीमा रोक लगाउने निर्णय गरे पनि सबै यातायात कार्यालयमा प्रदूषण जाँच्ने मेसिन र तालिमप्राप्त कर्मचारी नहुँदा ढिलो भएको जनाइएको छ ।