Newslaya Home

​मृगौला लिने पुरुष बढी, दिनेमा महिला बढी

बिहीबार २४, साउन २०७५

काठमाडौं । नेपालमा पहिलो पटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण गरिएको अहिले १० वर्ष पुगेको छ। 

यस अवधिभर पाँच सय ६ जना पीडितले मिर्गौला प्रत्यारोपण गराएको अस्पतालका नेफ्रोलोजी विभाग प्रमुख प्रा.डा. दिव्यासिंह शाहले जानकारी दिइन्। तीमध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिला रहेका छन्। 

त्यस्तै १६ वर्षमुनिका आठ जना बालबालिकाको पनि प्रत्यारोपण गरिएको छ। मिर्गौला प्रत्यारोपणको सुविधा लिनेमा पुरुषको संख्या बढी रहेको छ भने मिर्गौला दान दिनेमा भने महिला अघि रहेको प्रा.डा. शाहले बताइन् ।

शिक्षण अस्पताल मात्र नभइ भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रबाट पाँच वर्षयता ४ सय ७८ जनाले मिर्गौला प्रत्यारोपण सेवा लिएका छन्। केन्द्रका बिरामीमध्ये मिर्गौला लिनेमा ७८ प्रतिशत पुरुष र २१ प्रतिशत महिला रहेको केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए। मिर्गौला दान गर्नेमा चाहिँ ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेको उनको भनाइ छ।

मिर्गौला दान दिनेमा महिलाभन्दा पुरुषको संख्या आधा कम रहेको शिक्षण अस्पतालका वरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा. उत्तमकुमार शर्माले बताए। शिक्षण अस्पतालमा भने ६८ प्रतिशत महिला र ३२ प्रतिशत पुरुषले मिर्गौला दान दिएका छन्।