Newslaya Home

इतिहास रच्ने किराँत महिलाको सगरमाथा अनुभव, ‘शेर्पाले आफ्नो अक्सिजन दिएर बचाए’

बुधबार २३, साउन २०७५

धरान । सानैदेखि सगरमाथा चढ्ने रहर थियो उनको । काठमाडौमा बसेर पत्रकारिता गरिरहँदा सन् २००८ मा समावेशी महिला आरोहण टोलिको सफल आरोहण खबरले सगरमाथा चढ्ने उनको छटपटी बढायो । 

सगरमाथा चढ्ने योजना पनि बनाएकी थिइन् तर सगरमाथा चढिसकेका उदयपुरका ईन्द्र बाहिङ राईले पैसा धेरै लाग्ने भन्दिए पछि उनी पछाडी सरिन् । तर रहरले सपना मर्न दिएन । त्यसको ९ वर्ष पछि प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को टिममा सहभागि भई उनले रहर पुरा गरिन् । सगरमाथा चढिरहँदा उनले इतिहास बनाइन्, 'प्रथम किराँत महिला सगरमाथा आरोही ।'

सन् २०१६ को डिसेम्बर मा पत्रकार रोसा बस्नेतले महिला पत्रकारहरुको टिम सगरमाथा चढ्ने योजना बनाएकी थिईन् । उनको योजनामा १३ जनाको टिम बन्यो । ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ नाम दिएर देउराली सहित रोसा बस्नेत, प्रियालक्ष्मी कार्की, कल्पना महर्जन र रोजिता बुद्धाचार्यसहितको पाँच जनाको टिम बनाएर सगरमाथा चढ्ने ट्रेनिङ लिन थाले । 



एक वर्षको तालिमपछि उनको टिमले सगरमाथाको सफल आरोहण गर्यो । सगरमाथाको टुप्पोमा पुग्दा उनले जिन्दगीभरी नपाएको आनन्द पाएको बताइन् । ‘वरिपरि हिमालै हिमाल, घाँम पनि तल देखिने, अर्कै ग्रहमा आए जस्तो लाग्ने,’ उनले आँखा ठूला पार्दै अनुहारै उज्यालो बनाएर अनुभव सुनाइन् ।

धरानकी चेली, किराँत समुदायकी प्रथम महिला सगरमाथा आरोही बनेकी देउराली चाम्लिङले सगरमाथामा किरात समुदायको पुजा गर्ने सामग्री वाबु, मर्चा, कोदो, अदुवा चढाएकी थिइन् । धरानको फोटो सगरमाथाको चुचुरोबाट विश्वलाई देखाइन् । नेपाली राष्ट्रिय झण्डा सहित आफ्नै किरात राई यायोख्खा र किराँत राई विद्यार्थी संघको झण्डालाई सगरमाथाका फहराईन् ।

कठिन तालिम
सगरमाथा चढ्ने क्रममा उनीहरुको तयारी सम्झन लायक थियो । वाल क्लाईम्बिङ, रोप एसेस (डोरीको प्रयोगबाट चढ्ने), औजारको प्रयोग आदिबारे तालिम लिएका थिए । दैनिक २९ किलोको नुनको भारी बोकेर ७ घण्टासम्म हिडे । स्वयम्भुको उकालो ओरालो कुद्ने उनीहरुको दैनिकी थियो । ‘काँध र खुट्टा बलियो होस भनेर अफिस जाँदा, घरमा बस्दा नुनको भारी बोकिरहन्थ्यौं,’ उनले सुनाइन्, ‘१० महिना जति दैनिक भारी बोकेरै हिड्ने, कुद्ने गरयौं ।’

तालिमकै क्रममा ६ महिना पछि नोभेम्बर २०१७ मा ६ हजार मिटर उचाईको हिमाल चढे पछि सरकारले सगरमाथा चढ्ने अनुमती दिएको थियो । उनीहरुले दोलखाको रोलवालिङ क्षेत्रमा पर्ने राम्दुङ (५९२५ मिटर) र यलुङ–रि (५६३० मिटर) हिमाल चढेका थिए । 
अनुमती पाएपछि गत वैशाख ५ गते बाट सगरमाथाको चुचुरो पुग्ने यात्रा सुरु भएको थियो ।

काठमाडौबाट लुक्ला हिडेको टोलि ९ दिनमा सगरमाथाको बेसक्याम्प पुग्यो । चाम्लिङ सहित ३ जना ५ दिनमा पुगे भने बाँकी २ जना २ दिन पछि पुगे । बेसक्याम्पमा पनि तालिम भएको थियो ।

बेसक्याम्पमा पनि तालिम
बेसक्याम्प पुगेको ३ दिनपछि टोलि सगरमाथाको ३ नम्बर बेसक्याम्पसम्म पुगेर झ¥यो । यो पनि तालिमको एउटा हिस्सा थियो । ‘लोबुचे, कालापत्थर, गोरबसेसम्म पुग्ने र फर्कने गरिरह्यौं,’ उनले भनिन्, ‘सगरमाथालाई साथी बनाउने अभ्यास थियो त्यो । 

मौसम हेरेर राती १ बजेतिर हिड्थे उनीहरु । क्याम्प १ मा एक रात बसेका उनीहरुले क्याम्प २ मा ३ तीन बिताए । फेरि बेसक्याम्प फर्केर तालिम गरिरहे । 


‘सगरमाथाको टुप्पोमा पुगेको खबर पहिले आमालाई सुनाएँ’
अन्तीममा टोलि जेठ ५ गते सगरमाथाको लागि अघि बढ्यो । बेसक्याम्पबाट एकै दिनमा २ नम्बर क्याम्पलाई छिचोल्दै ३ नम्बर क्याम्पमा बिश्राम लिए । चौथो दिनमा जेठ ९ गते अर्थात् मे २३ मा सगरमाथाको चुचुरोमा झण्डा फहराउन सफल भए । 

‘सगरमाथामा आधा घण्टा बस्यौं, मौसम खराब हुँदै गयो भन्ने सुचना तल बेसक्याम्पबाट आए पछि झर्न थालिहाल्यौं,’ उनले अनुभव सुनाइन्, ‘चुचुरोमा हावा निकै चलिरहन्थ्यो, हुस्सु लाग्दै हराउने गथ्र्यो ।’

सगरमाथा चढिसकेपछि उनले धरानलाई सम्झिइन् । किराँत समुदायलाई सम्झिइन् । अनि आमालाई सम्झिइन् र आफू चुचुरोमा पुगेको सन्देश दिन लगाइन् ।



अक्सिजन सकिँदा शेर्पाले आफ्नो अक्सिजन दिएर बचाए
हिमाल चढ्नु भनेको एउटा हातमा इतिहास रच्नु, धेरै कमले देख्न पाउने दृश्य र अनुभुती गर्न पाउने अनुभव हाँसिल गर्नु हो भने अर्को हातमा मृत्यु बोकेर हिड्नु हो । ‘हिमालमा मर्न सजिलो रैछ, बिरामी भइयो भने कसैले चाहेर पनि सहयोग गर्दैनन्,’ उनले भनिन्, ‘आफु मर्न तयार हुनुप¥यो, कि मरेको हेर्दै हिड्नु प¥यो, दुई पटक झण्डै गईयो, शेर्पा दाईले सहयोग गरेर मात्रै बाचेँ ।’

उकालो चढ्दै गर्दा क्याम्प ४ नजिक पुग्न लाग्दा देउरालीको अक्सिजन सकियो । हिड्न पनि गाह्रो भईरहेको बेलामा बाटोमा ट्राफिक जाममा परेपछि उनलाई झन् असहज भएको थियो । पछि शेर्पाले आफ्नो अक्सिजन दिएर क्याम्प ४ सम्म पुर्याए । उनले सुनाईन्, ‘शेर्पाले रिस्क लिएर अक्सिजन नदिएको भए म बाटैमा मर्थेँ ।’ 

उनलाई अक्सिजन दिएपछि ती शेर्पाले भने क्याम्प ४ सम्मको बाटो अक्सिजन विनै काटेका थिए । क्याम्प पुगेपछि स्टक अक्सिजन लिए । ‘साथीहरुलाई सुनाए पछि सबै जना रोयौं, बाँच्ने चान्स नै थिएन,’ उनले भनिन् ।

सगरमाथा चढ्नभन्दा झर्न झनै गाह्रो हुने उनको अनुभव छ । ‘सगरमाथा पुग्दा इनर्जी नै सकिएको हुन्छ, थकान हुन्छ,’ ३ दिनको हिडाईले शरीरमा पानीको कमी हुँदै जाँदा शारीरिक र मानसिक असरहरु देखा पर्ने बताउँदै भनिन्, ‘कसैले केहीभन्दा पनि रिसाउने, झर्किने हुन्छ, कसैको वास्तै हुँदैन रहेछ ।’


ऋण तिर्ने चुनौति
सगरमाथा चढ्ने रहर त पुरा गरिन्, तर आर्थिक भार भने टाउकोमा बोकरे हिडिरहेकी छिन् । सगरमाथा चढ्न प्रति व्यक्ति ३५ लाख रुपैया खर्च भएको थियो । त्यसको अतिरिक्त उनी बिरामी हुँदा हेलिकोप्टर चार्ज, घोडाको चार्ज, शेर्पा दाईलाई दिनुपर्ने थप पैसा गरेर अझै २५ लाख रुपैया जती ऋण उनको टाउकोमा छ । 

उनीहरुको लगनशिलता, उत्साह देखेर ट्रेनिङ सेन्टरका मेनेजर तथा टोलिका सरदार फुर्वा तेन्जिङ शेर्पाले अपुग रकमको लागि दबाब दिएका छैनन् । तर केही दिन अघि टोलिमा गएका शेर्पाले फोन गरेर बुबाको उपचारका लागि पैसा मागेका थिए । ‘आफूले जोखिम मोलेर मलाइ बचाउने शेर्पालाई पैसा दिन सकेको छैन,’ उनले भनिन्, ‘सहयोगमा लागि आग्रह गरिरहेको छु, पाउने बित्तिकै शेर्पाहरुको ऋण तिर्छु ।’ 

1 प्रतिकृयाहरू प्राप्त
  • युवराज किरातीलेख्नुहुन्छ
  • |
  • बुधबार २३, साउन २०७५ १०:०१
किरात राई यायोख्खाले केहि थप सहयोग गरिदिए हुन्थ्यो भन्ने मेरो विनम्र अनुरोध ।उहाँको किराँतहरुको एउटा गौरवको इतिहास रच्नु भएको छ चेलीले