Newslaya Home

​इनरुवा अस्पतालको १९ लाख हिनामिना

बुधबार २३, साउन २०७५

इनरुवा । बिरामीले तिरेको रकम बैंक दाखिला नगरेको भेटिएपछि सुनसरीको इनरुवास्थित जिल्ला अस्पतालमा हिनामिना भएको खुलेको छ । 

अस्पतालको आम्दानी वापतको १९ लाख ३९ हजार ५ सय ५६ रुपैंयाँ हिनामिना भएको पाइएको छ । हिनामिना गरिएको सरकारी रकम फिर्ता गर्नुको साटो कम्प्युटर प्रणालीमा राखिने ‘डाटा इन्ट्री’ मेटाएर रकम पचाउने परिपञ्चसमेत रचिएको फेला परेको छ ।

हिनामिनामा संलग्न सबै इनरुवा अस्पतालका करारका कर्मचारी हुन् । 

इनरुवा अस्पतालको काउण्टरमा बस्ने ५ जनाले रसिद काट्छन् उनीहरुले संकलन भएको रकम अस्पतालको खातामा जम्मा नगरी आफैं चलाउने गरेको भेटिएको हो ।

अजय प्रधान ३ लाख ६९ हजार ५ सय २१,कविता पोद्दारको नाममा ४ लाख ९१ हजार ८ सय ३ रुपैयाँ, सरु भट्टराईको नामको १३ हजार ६ सय ९७ र विकेश श्रेष्ठको नाममा असार मसान्तयता १० लाख ६४ हजार ५ सय ३५ बक्यौता देखिएको छ ।

लामो समय बक्यौता रहेकोमा असार मसान्तसम्ममा शाक्यको हिसाब चुक्ता भएको देखिन्छ भने सरुको नाममा केही बक्यौता अझ बाँकी छ । अरुले पनि केही फिर्ता गरेपनि पुरै रकम फर्काएका छैनन् ।

लेखा फाँटले दिएको तथ्याङ्कका अनुसार विकेश एक्लैको नाममा १० लाख बढी रकम बक्यौता छ ।

कर्मचारीले गल्ती गरेको भए कार्वाहीको प्रक्रिया थालिने मेसु डा विना शाक्यले बताइन् ।