Newslaya Home

​अझै राहतको पर्खाइमा कोसी बाढी पीडित

विनय बाह्रकोटी
मङ्गलबार २२, साउन २०७५

इटहरी । सप्तकोशीले आफ्नो धार परिवर्तन गरेपछि विस्थापित भएका कोसी बाढी पीडितहरू अझैसम्म पनि राहतको पर्खाइमै छन् । २०३६ साल देखी २०४६ सम्म भएको कोशी कटानबाट आफ्नो सर्वस्व गुमाएकाहरु अझैसम्म सरकारले केही राहत देला कि भन्ने आशमा बाँचीरहेका छन् । सुनसरीको मधुवनबाट सुरु भएको कटान उत्तरतर्फ प्रकाशपुर, महेन्द्रनगर, बराहक्षेत्र सम्म पुगेको थियो । 

कटानका कारण ६ हजार बिगाह जग्गा कोसीले अधिग्रहण गरेको कोसी बाढी पीडित सङ्घका उपाध्यक्ष जोनी लिम्बुले जानकारी दिए । उक्त कटानमा परी ३९ सय घर परिवार विस्थापित भएको र त्यसमध्ये आधा जसो परिवार भारतको विभिन्न स्थानमा शरणार्थीको रूपमा बस्ने गरेको उनको भनाइ छ । 

सुनसरीको भागलपुरमा एकमुष्ट रूपमा बग्दै आएको सप्तकोशीले पूर्व तर्फ बिस्तारै आफ्नो धार परिवर्तन गर्न थालेको थियो । पछि सयौं विगाहा जग्गामा बालुवा थुपारेर १० वर्षसम्मलाई किसानलाई समस्यामा पारेको थियो ।

कोशी कटानको कारण विस्थापित भएपछि नेपाल सरकारले कुनै पनि वास्ता नगरेको सुनाउँछन् पीडित छत्र बहादुर लिम्बु । जुनसुकै सरकार र मन्त्री आए पनि समस्या सुनेर मात्र जाने तर काम चाहिँ केही पनि गर्न नसकेको उनको गुनासो छ । 

सुनसरी प्रकाशपुरका अर्का पीडित भक्तबहादुर सुवेदी आफ्नो घर सहित तीन बिगाह जग्गा बगाएको सुनाउँछन् । 
सरकारले मुआब्जा दिने आश्वासन बारम्बार दिने गरेको र त्यसैको लागी तिन पटक सम्म फारम भरेपनि अझैसम्म एक सुको नलागेको उनको भनाइछ । पुराना कुरा सम्झिएर घाउ बल्झाउनुको कुनै अर्थ नरहेको उनी बताउँछन् ।
 
सोही स्थानकी लीला माया विष्टको पनि समस्या त्यस्तै छ । १० बिगाह जग्गामा कोसी बग्न थालेपछि उनको दैनिकी सकस पूर्ण बन्न थाल्यो । छोराहरू आ आफ्नो परिवार लिएर भारत बस्न थालेपछि उनी कोसी किनारमा निर्माण गरिएको स्परमा छाप्रो हालेर बस्दै आएकी छिन् ।

त्यस्तै अर्की पीडित कमला थापा कोसीले विस्थापित गरेपछि ऐलानी जग्गामा बस्न थालेको सुनाउँछीन् । खेतीमा नदी बगेपछि दैनिक गुजारा मानै समस्या परेको उनको भनाइ छ । ‘चुनाव आएको बेलामा सरकारका मन्त्री र नेता मुआब्जा दिन्छु भन्छन्, तर पछि दिँदैनन्,’ उनी भन्छिन् ।

कोसी सम्झैता अनुसार भारत पक्षको कारण कुनै हानी भएमा भारतको विहार सरकारले क्षतिपूर्ति बेहोर्ने उल्लेख गरीएकोछ । भारत सरकारले भारतीय भूमिमा कोसीको क्षेत्र साँगुरो पार्न थालेपछि नेपाली भूभागमा कटान सुरु भएको थियो । त्यसै अनुसार भारतको विहार सरकारले पीडितलाई दिनुपर्ने राहत तथा क्षतिपूर्ति अझैसम्म उपलब्ध गराउन सकेको छैन । 

नेपाल सरकारको अकर्मण्यता र भारत सरकारको हेपाहा प्रवृत्ति ले गर्दा जनता मारमा परिरहेको कोशी बाढी पीडित संघका उपाध्यक्ष लिम्बुको भनाइछ । प्रदेशका मन्त्री तथा केन्द्रीय नेताहरूले राहत उपलब्ध गराउने आश्वासन दिएको कारण अझै पनि आश लागिरहेको उनी बताउँछन् ।