Newslaya Home

​इटलीमा ट्यांकर विस्फोट, दुई जनाको मृत्यु, ७० जना घाइते

मङ्गलबार २२, साउन २०७५

इटली । इटलीको बोलोग्ना एयरपोर्ट नजिकै सोमबार ट्यांकर विस्फोट भएको छ । विस्फोटमा परि कम्तिमा दुई जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् । 

ट्यांकरमा विस्फोटपछि आगो लागेको थियो । समाचारका अनुसार ट्यांकर लिक्विड पेट्रोलियम ग्यासले भरिएको थियो । यो सडक दुर्घटनामा ग्यासले भरिएको ट्यांकरमा आगो लागेको थियो । दुर्घटनापछि बोलोग्नाको आकाशमा ठुलो धुवाँको मुस्लो देखिएको थियो । 

यो पुरै घटनाको दृश्य सीसीटीभीमा कैद भएको थियो । भिडियोमा राजमार्गमा गइरहेको ट्यांकर अचानक अगाडि रहेको कन्टेनरसँग ठोक्किएको थियो । 

ठोक्किएपछि ट्यांकरमा तत्काल आगो लागेर शक्तिशाली विस्फोट भएको थियो । विस्फोटपछि सडकमा १० फिट गहिरो खाडल परेको छ । अग्ननियन्त्रकका अनुसार विस्फोट भएको स्थानमा करिब ३ घण्टासम्म आगोको लप्का देखिएको थियो ।