Newslaya Home

​हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने

मङ्गलबार २२, साउन २०७५

काठमाडौं । हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने सरकारले ठहर गरेको छ । यसबारे अध्ययनका लागि बनेको समितिले कपडा उद्योग सञ्चालन गर्न सकिने निश्कर्षसहितको प्रतिवेदन दिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको ७ सदस्यीय संयुक्त समितिले हेटौंडा कपडा उद्योगको स्थलगत रुपमै अध्ययन गरेर प्रतिवेदन तायर गरेको हो । नेपाली सेनालाई संलग्न गराएर उद्योग चलाउने योजना अनुरुप अध्ययन कार्यदल गठन भएको थियो । 

करिब ३० करोड खर्च गर्दा उद्योग फेरि सञ्चालनमा ल्याउन सकिने निश्कर्षसहितको प्रतिवेदन मन्त्रालयमा बुझाइएको कार्यदलका एक सदस्यले बताए । 

प्रतिवेदनले उद्योग चलाउन विभिन्न मोडालिटी पनि प्रस्ताव गरेको छ । जसमा सेनाको एकल लगानीदेखि सरकारको र सेनाको संयुक्त लगानीसम्मका मोडालिटी छन् । उद्योग चलाउने निर्णय गर्न अर्थमन्त्रालयले स्वीकृति दिनुपर्नेछ । त्यसपछि मन्त्रिपरिषदबाट निर्णय भएमा उद्योग सञ्चालनको तयारी सुरु हुनेछ ।

कार्यदलले उद्योगको मेसिन र पूर्वाधार अवस्था लगायतका विषयमा अध्ययन गरेको थियो । उद्योगका केही मेसिन अहिले पनि मर्मत गरेर चलाउन सकिने अवस्थामा भेटिएको कार्यदलका एक सदस्यले बताए ।

उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले यसअघि नै अध्ययन प्रतिवेदनका आधारमा कपडा उद्योग सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएका थिए । 

सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द छ । २०३५÷३६ देखि व्यावसायिक रुपमा उत्पादन शुरु गरेको कपडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ । बन्द हेटौडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ ।

कपडा उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको थियो । नेपालमै ठूलो कपडा उत्पादक रहेको यो उद्योग लामो समयसम्म नाफामा सञ्चालन भएको थियो ।

तर, राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण बन्द भएको थियो । प्रत्यक्ष १५ सयभन्दा बढीलाई जागिर खुवाउने यो उद्योगमा पनि चरम राजनीतिकरण भएको थियो ।

यो उद्योग सञ्चालनमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो दिएका छन् । उनले केही समयअघि प्रदेशसभा ३ को बैठकलाई संबोधन गर्दै नयाँ मेसिन ल्याएर कपडा उद्योग चलाउने बताएका थिए ।