Newslaya Home

​आफूखुशी कर बढाएको भन्दै सुनसरी,मोरङ औद्योगीक करिडोरका उद्योगीहरु उत्रिए विरोधमा

मङ्गलबार २२, साउन २०७५

काठमाडौं । स्थानीय तहले आफूखुशी कर बढाएको भन्दै सुनसरी, मोरङ औद्योगीक करिडोरका उद्योगीहरु विरोधमा उत्रिएका छन् । संघीय सरकारको अनुमति बिना नै स्थानीय तहले व्यवसाय कर बढाउनुका साथै ट्याक्स लगाउन थालेपछि उद्योगीहरु आक्रोशित बनेका छन् ।

सुनसरी मोरङ औद्योगिक कोरिडोर क्षेत्रका स्थानीय तहहरुले घरजग्गा कर, व्यवसाय कर, घरबहाल कर, घरनक्सा पास दस्तुर र टर्न ओभर कर लगाउदै आएका छन् । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्धडाले उद्योगलाई लगाइएको करमा व्यवहारिकता झल्किनुपर्ने बताए ।

मुलुक कै सबैभन्दा बढी उद्योग रहेको मोरङको बुढीगंगा गाँउपालिकामा दुई सय भन्दा बढी ठूला उद्योग रहेका छन् । बुढीगंगा गाँउपालिकाले व्यवसाय कर वापत ठूला उद्योगलाई वार्षिक ५ लाख, मझौलालाई ३ लाख र साना उद्योगलाई १ लाख रुपैया तोकेको छ । बुढीगंगा गाँउपालिकाका अध्यक्ष बालचन्द्र माझीले भने कर निर्धारण गर्ने अधिकार अनुसार कर तोकेको बताए ।

संघीय सरकारले कर सम्बन्धि ऐन नल्याउँदा स्थानीय तहले आफैंले कर निर्धारण गर्न थालेका छन् ।