Newslaya Home

​नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

सोमबार २१, साउन २०७५

काठमाडौं । ऐतिहासिक सफलता हासिल गर्दै नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ ।

पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सफलता हासिल गर्दै नेपाली टोली सोमबार बिहान जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

राष्ट्रिय क्रिकेट टोलीलाई खेलकुद परिषद्का सदस्यसचिव केशव बिष्टलगायतले स्वागत गरेका छन् ।

स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले समग्रमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहे पनि अझै धेरै मेहनत गर्नुपर्ने बताए । 

काम विशेषले विमानस्थल पुगेका नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि खेलाडीहरुलाई बधाइ दिएका छन् ।

गत चैत्रमा पहिलो पटक चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मान्यता पाएको नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेलेको थियो ।

दुई खेलको शृङ्खलामा नेदरल्याण्ड्सको मैदानमा नेपालले १–१ को बराबरी गरेको हो ।

पहिलो खेलमा ५५ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा एक रनको सनसनीपूर्ण जित हासिल गरेको थियो ।