Newslaya Home

​कुकुरलाई जुत्ता !

आइतबार २०, साउन २०७५

युरोप । युरोपमा यसपटक अत्याधिक मात्रामा गर्मी बढेको छ । जसकारण जनावरहरुका लागि समेत ठूलो समस्या उत्पन्न भएको छ । प्रतिदिन बढ्दै गइरहेको तापक्रमको कारण हाल स्वीट्जरल्यान्डको जुरिक सहरमा प्रहरीले सबै कुकुरलाई जुत्ता लगाइदिन सर्वसाधारण समक्ष आग्रह गरिरहेका छन् । 

जुरिकका पुलिसले यसैका लागि ‘हट डग’ नामक अभियान सुरु गरिसकेको बताइएको छ । यस अन्तर्गत उनीहरुले घरमा पालेका कुकुरलाई यस भयानक गर्मीबाट सुरक्षित राख्न तुरुन्तै जुत्ता खरिद गर्न भन्दै सबैलाई सचेत गराइरहेका हुन् । तातो जमिन कुकुरका लागि असह्य हुने हुँदा त्यसबाट बच्नकै लागि सो अभियान आवश्यक रहेको बताइएको हो ।

पूरै युरोपभर बढ्दै गइरहेको गर्मीसँगै त्यहाँ चलिरहेको अत्याधिक तातो हावा पनि सबैका लागि खतरनाक हुने हुँदा यसबाट जोगिन सरकारले विभिन्न सेवाहरु उपलब्ध गराइरहेको छ । स्वीट्जरल्यान्डमा मात्र जुलाईको तापक्रम ३० डिग्री पुगेको हो जसलाई अहिलेसम्मकै सबैभन्दा धेरै बताइएको छ । यसैकारण अहिले धेरै स्थानहरु सुख्खा र खडेरीको चपेटामा रहेका छन् । 

जुरिक प्रहरीका प्रवक्ता माइकल वाकरका अनुसार ३० डिग्री तापमान जमिनमा टेक्दा ५० डिग्री जस्तो महसुस हुने भएकाले नै कुकुर लगायतका जनावरहरुलाई यसबाट जोगाउन विशेष तरिका अपनाउनुपर्ने भएको हो । 

यसले उनीहरुको खुट्टा जलाउन समेत सक्ने भएकाले तिनीहरुलाई डुलाउन लैजाँदा पनि विशेष सावधानी अपनाउनुपर्ने र एकपटक भुईँको तापमान आफैँले छामेर जाँच गर्नुपर्ने पशुविद्हरुको भनाइ छ ।