Newslaya Home

​आज मित्रता दिवस, कसरी भयो दिवसको शुरुवात ?

आइतबार २०, साउन २०७५

आज मित्रता दिवस अर्थात् फ्रेन्डशिप डे । यो दिवसमा आफ्ना साथिहरुलाई सझिएर शुभकामना आदान प्रदान गर्ने गरिन्छ । टाढा रहेका साथीहरुलाई पनि सम्झिने गरिन्छ । त्यसैले यस दिनलाई एकदमै खास दिन पनि मानिन्छ । 

यति रमाइलो दिवसको शुरुवात कसले र कसरी गर्यो ? यस्तै प्रश्न तपाईहरुको मनमा खेलिरहेको होला हैन ? 

मित्रता दिवसको शुरुवात हलमार्क कार्ड्सका संस्थापक जोयस हलले गरेका हुन् । उनले नै पहिलोपटक सन् १९३० को अगस्ट २ मा फ्रेन्डशिप डे मनाउने आइडिया निकालेका थिए । 

तर ग्रीटिङ कार्ड्स इन्डस्ट्रीले व्यापारिक फाइदाका लागि यो अवधारणा ल्याएको भनेर आलोचना पनि गरिएको थियो । 

सन् १९५८ को ३० जुलाईमा उरुग्वेमा संसारको पहिलोपटक मित्रता दिवस मनाइएको थियो । वर्ल्ड फ्रेन्डशिप क्रुसेड नामक संस्थाले त्यही मितिमा फ्रेन्डशिप डे मनाउने प्रस्ताव गरेको थियो । वर्ल्ड फ्रेन्डशिप क्रुसेड एक विश्वव्यापी नागरिक संगठन हो र यसले मित्रताका माध्यमले संसारमा शान्तिको वकालत गर्ने गरेको छ । 

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०११ मा ३० जुलाईलाई फ्रेन्डशिप डेका रूपमा मनाइने घोषणा गरेको थियो । त्यसपछि फ्रेन्डशिप डेलाई आधिकारिक मान्यता दिइयो ।

नेपाल, भारतलगायत एसियाका थुप्रै मुलुक र अमेरिकामा अगस्ट महिनाको पहिलो आइतबारलाई फ्रेन्डशिप डेका रूपमा मनाउने गरिएको छ । आज ५ अगस्ट पहिलो आइतबार हो ।

विनी द पूह नामक कार्टून चरित्रलाई पहिलो फ्रेन्डशिप दूत घोषणा गरियो । विनीलाई यो सम्मान सन् १९९८ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नानकी पत्नी नने अन्नानले दिइन् । 

सेप्टेम्बरको तेस्रो आइतबारलाई चाहिँ महिला मित्रहरूको दिवसका रूपमा मनाइने गरेको छ ।

फेब्रुअरीको पूरा महिनालाई मित्रताको महिना मानिएको छ । 

मित्रताको सम्बन्ध आदिकालदेखि चलिरहेको छ । प्राचीनकालमा पनि धेरै मानिसको मित्रता प्रसिद्ध भयो र प्रेरणाको स्रोत पनि बन्यो ।