Newslaya Home

​इटहरीको खुला चउरमा भेटिएको यो गाडी कसको ?

शनिबार १९, साउन २०७५

इटहरी । इटहरी ४ स्थित पानीटंकी छेउ खाली जग्गा छ । उक्त जग्गालाई युवाहरु फुटबल ग्राउण्डको रुपमा प्रयोग गर्छन् । त्यही जग्गामा हिजो रातीदेखि एउटा गाडी त्यसै बसिरहेको छ । झण्डै आधा करोड पर्ने स्कोर्पियो त्यहाँ अलपत्र परेको छ ।

बा ८ च १५९९ नम्बरको उक्त गाडी हेर्न राती त्यहाँ पुगेका स्थानिय तिलक राईलाई प्रहरीले राती नै समातेर इलाका प्रहरी कार्यालय इटहरी थाना ल्यायो । 
आफ्नै घरमा सुतिरहेका उनलाई नदेखेपछि बिहान छिमेकीहरु रिपोर्ट लेखाउन प्रहरीकोमा पुग्दा त्यहीँ भेटे ।

स्थानियका अनुसार खाली चउरमा रातको समयमा भेटिएको गाडी हेर्न पु्गेका उनलाई त्यही गाडी छेउमै बसेका प्रहरीले समातेका थिए । तर केही कसुर नभेटिएपछि बिहान छाडिदिएका छन् ।

कसरी अलपत्र पर्यो यो गाडी ?
राती गस्तीमा रहेको प्रहरीले उक्त गाडी देखेको र गाडीसँगै रहेका केही युवाहरु प्रहरी पुग्नासाथ भागेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक बुद्धि चौलागाईँले जानकारी दिए ।
‘सबै शंकास्पद रुपमा भागेपछि गाडीलाई हामीले नियन्त्रणमा लिएका हौं,’ चौलागाईँले भने, ‘सर्सर्ती हेर्दा केही भेटिएन, अब इन्जिनहरु सबै हेर्नको लागि गाडीलाई इप्रका ल्याउँदैछौं ।’
प्रहरी कार्यालयमै ल्याएर गाडी सर्च गरिने उनले जानकारी दिए । 

गाडी कसरी पुग्यो त्यहाँ ?
राती २ बजेको समयमा गाडी किन खुला चउरमा पुग्यो र झण्डै आधा करोड पर्ने स्कोर्पियो गाडी छाडेर किन युवाहरु भागे भन्ने विषयमा प्रहरीले चासोपूर्वक अनुसन्धान थालेको छ । 

इटहरीमा पछिल्लो केही महिनामा केही युवाको समुहले गैह्रकानुनी असुली धन्दा सुरु गरेको गुनासो व्यवशायिक वृत्तबाट आउन थालेको छ । इटहरीमा साम्य भइसकेको धम्की, असुली फेरी सुरु भएपनि व्यवशायीहरुले खुलेर भन्न सकेका छैनन् । 

सोही सेरोफेरोमा भएको शंकास्पद गतिविधिलाई प्रहरीले चासोका साथ हेरेको छ ।