Newslaya Home

​टमाटर नबिक्दा पाँचथरका १३ सय किसानलाई १४ करोड रुपैया नोक्सान

शनिबार १९, साउन २०७५

फिदिम । भारतले गोलभेंडा निकासीमा रोक लगाएको भन्दै व्यापारीले गोलभेंडा खरिद नगरेपछि पाँचथरका दुई वटा गाउँपालिकामा १४ करोडको गोलभेंडा बारीमै कुहिएको छ ।

पाँचथरको याङवरक र हिलिहाङ गाँउपालिकामा उत्पादित गोलभेंडा बारीमै कुहिएको कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलले जानकारी दिए । मुख्य सिजनमै उत्पादन बिक्रि नभएपछि त्यसको असर किसानलाई सोझै परेको छ । सरकारले पनि वास्ता नगरेको उनीहरुको आरोप छ ।

जेठ महिनादेखि कात्तिक महिनासम्म यहाँका किसानहरुले उल्लेख्य मात्रामा गोलभेंडा उत्पादन गर्छन् । गत वर्ष प्रतिकिलो न्युनतम १० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्ममा गोलभेंडाको कारोबार भएको थियो । प्रतिकिलो सरदर २५ रुपैयाँ मान्दा पनि गत वर्ष यो सिजनसम्ममा १५ करोडको गालेभेंडा निकासी भइसकेको थियो । 

तर, यो वर्ष अहिलेसम्म एक करोड २० लाख मूल्य बराबरको मात्र गोलभेंडाको कारोबार भएको बताइएको छ ।

झापाको काकरभित्ता नाकाबाट गोलभेंडा भारत निकासी गर्न नपाएपछि व्यापारीले गोलभेंडा खरिद गर्न नसकेका हुन् । 

व्यापारीले तीन रुपैयाँमा गोलभेंडा मागे । तर त्यतीमा बिक्री गर्दा गोलभेंडा टिप्न लाग्ने कामदारको खर्चसमेत नउठ्ने भएपछि किसानले गोलभेंडा बोटमै कुहिन दिएका हुन् । ‘एक किलो गोलभेंडा उत्पादन गर्न नौ रुपैयाँ खर्च भएको हुन्छ,’ नागिका किसान प्रेम काफ्लेले भने,‘ खेतीमा गरेको लगानी नै उठ्दैन भने किन गोलभेंडा टिप्ने कष्ट गर्नु ?’

जिल्लाका करिब १३ सय किसानले व्यवसायिक रुपमा यसको खेती गरेका छन् ।