Newslaya Home

विराटनगरका यी उद्योगको पानीमा भेटियो हानिकारक कोलिफर्म

शुक्रबार १८, साउन २०७५

विराटनगर । तपाइ विराटनगर जानुभएको छ र त्यहाँ बोतल वा जारको पानी खाँदै हुनुहुन्छ भने विचार गर्नुहोस्, बोतलको पानीमा हानिकारक जीवाणु हुनसक्छ । विराटनगरका पानी उद्योगहरुले बेच्ने पानीमा हानिकारक कोलिफर्म (जीवाणु) भेटिएको छ ।

कोलिफर्मले मानव स्वास्थ्यलाई हानी गर्छ । 

प्रदेश नम्बर–१ को सामाजिक विकास मन्त्रालयको नेतृत्वमा साउन पहिलो साता विराटनगरमा सन्चालित २० ओटा पानी उद्योगहरुको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा विराटनगरका पानी उद्योगहरु अस्तव्यस्त तरिकाले सञ्चालन भइरहेको भेटिएको थियो । सामान्य मापदन्डसमेत पूरा नगरी पानी जारमा भरेर बजारमा पठाउने गरेको पाइएको थियो । प्रारम्भिक अनुगमनका क्रममै धेरै पानी उद्योगको सञ्चालन गुणस्तरहीन पाइएको थियो । 

पछि उद्योगबाट लिइएको पानीको नमुना परिक्षणमासमेत पानीमा खराबी देखिएको छ । 

मन्त्रालयका उपसचिव गोपी घिमिरेले पानी उद्योगको अनुगमनका क्रममा नमुना संकलन गरिएका ११ ओटा उद्योगले उत्पादन गरेको पानीमा कोलिफर्म जीवाणु भेटिएको जानकारी दिए ।

यसरी कोलिफर्म भेटिएका पानीहरुमा गंगाजल, गोमारानी, शुभजल, पूजा फूड एन वयेभ, तिरुपती, माउन्टेन, हाइमल, श्री जल, शितल, जोनसन र दिव्यश्री आदि उत्पादन गर्ने उद्योगहरु हुन् । 

कोलिफर्म भएको पानी प्रयोग गर्न स्वास्थ्यको लागि हानिकारक हुन्छ । यस्तो पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन सकिन्छ । तर उद्योगहरुले भने खर्च जोगाउन पानी शुद्धिकरण नै नगरी बजारमा बेच्न पठाउने गरेको खुलेको हो ।

सुधार नभएसम्म बन्द

प्रयोगशाला परीक्षणबाट प्राप्त रिपोर्टका बिषयमा सामाजिक विकास मन्त्रालयमा छलफल भएको थियो । छलफलका क्रममा कोलिफर्म भेटिएको उद्योगहरुलाई तत्काल बन्द गरी कारवाही प्रक्रिया अघि बढाउने र सुधार नभइसम्म सञ्चालन गर्न नदिने सहमती भएको छ ।

कोलिफर्म जीवाणु भेटिएका उद्योगहरु मध्ये अधिकांश मापदण्ड पूरा नगरेका कारण शिलबन्दी गरिएकाहरु छन् । त्यस बाहेक अनुगमनका क्रममा सामान्य देखिएका उद्योगहरुको पानी परीक्षण गर्दा पनि कोलिफर्म भेटिएको थियो ।