Newslaya Home

​वैज्ञानिकहरुले पत्ता लगाए, नेपालको हिमाली क्षेत्रमा किन जान्छ भूकम्प ?

बिहीबार १७, साउन २०७५

काठमाडौं । अमेरिकी वैज्ञानिकले हिमाल क्षेत्रमा भुकम्पको केन्द्र किन हुन्छ भन्ने कारण पत्ता लगाएका छन् । यो खोजेले भविष्यमा कहिले भूकम्प जान्छ भनेर अनुमान लगाउन सहयोगी हुने उनीहरुको दाबी छ ।

अमेरिकाको इलिनोय विश्वविद्यालले सोङ सिओदोङको नेतृत्वमा यस विषयमा अध्ययन गरेको हो । सोङले युरोएशिया प्लेटमा पाँच करोड वर्षअघि इन्डियन प्लेट ठोकिँदा त्यसको माथिल्लो तह चार वटा चिरा परेको बताए।

‘इन्डियन र एशियन टेक्टोनिक प्लेट जुधेकै कारणले विश्वका केही विध्वसंकारी भूकम्प गएका छन्,’ मंगलबार प्रोसिडिङ्स अफ नेसनल एकाडेमी अफ साइन्सेजको जर्नलमा प्रकाशित अनुसन्धानपत्रमा भनिएको छ।

नेपालसँग सीमा जोडिएको तिब्बती पठार क्षेत्रमा केन्द्रित भएर गरिएको यो खोजमा कमजोर यातायात सुविधा र प्रतिकुल मौसमको कारण  ठूलो पठार क्षेत्रको अध्ययन गर्न नपाएको अनुसंधान्कर्ताहरुले बताएका छन ।

तिब्बती पठारलाई अग्लो बनाउन इन्डियन प्लेटको माथिल्लो तहले कसरी भूमिका खेलिरहेको छ भन्ने भूगर्भशास्त्रीहरुलाई भूकम्पको जोखिमबारे आँकलन गर्न यो खोज सहयोगी हुने उनको विश्वास छ। ‘हामीले पत्ता लगाउनु भन्दा अघि पनि प्लेटमा रहेको चिराका बारेमा भूगर्भशास्त्रीहरु जानकार थिए। तर त्यो कतिवटा छ वा त्यसका आकारबारे उनीहरुलाई थाहा थिएन,’ उनले भनेका छन्।

भारतीय प्लेट युरो एशियामा ठोक्किएपछि तिब्बती पठार र हिमाल श्रृङ्खला निर्माण भएको उनको अनुसन्धानले देखाएको छ। पाँच करोड वर्ष अघिदेखि शुरु भएको यो टकराब अहिले दिनमा पनि जारी रहेको छ।

सन् २००८ मा दक्षिणपश्चिम चीनको सिचुवानमा गएको ८ रेक्टर स्केलको भूकम्पमा ८७ हजारका मृत्यु, ३ लाख ७० हजार घाइते भएका थिए भने ५० लाख मानिस घरवारविहीन बनेका थिए ।