Newslaya Home

​विराटनगरमा सुविधा सम्पन्न बसपार्क (फोटोफिचरसहित)

- विनय बाह्रकोटी
बिहीबार १७, साउन २०७५

विराटनगर । बसपार्क भन्ने बित्तिकै यात्रुको झोला तानेर दुःख दिने र अस्वच्छ खानपिन हुने स्थान भन्ने बुझाइ छ । त्यही बुझाईलाई हटाउन विराटनगर महानगरपालिकाले सुविधा सम्पन्न बसपार्क निर्माण गरेको छ । 

प्रदेश राजधानी विराटनगरमा बढ्दो सवारी चापको व्यवस्थापन गर्न र यात्रुलाई सुविधा दिन बसपार्क बनाएको महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।

नगर विकास कोषको ऋण सहयोगमा बसपार्क निर्माण गरिएको हो । ८ करोड ४७ लाखको लागतमा निर्माणाधिन बसपार्क पूर्वको सबैभन्दा सुविधा सम्पन्न बसपार्क हुने उनको भनाइ छ । 

‘सार्वजनीक निजी साझेदारी (पिपिपि) मोडेलमा निर्माण भएको बसपार्क पछि बस टर्मिनलको रूपमा विकसित गरिने छ,’ उनी भन्छन्, ‘त्यसैको लागी ५७ वटा टर्मिनल बनाइएको छ ।’ 

गत आर्थिक वर्षको माघ ४ गते बसपार्क निमार्णमा सम्झैता भएको इन्जिनियर थापाको भनाइछ र्। गौरी पार्वती निर्माण सेवा’ ले निर्माण जिम्मा पाएको आयोजना असार मसान्त भित्र सक्नुपर्ने भए पनि बर्खाको समय भएकोले भदौ सम्म समय थप गरिएको थापा बताउँछन् । 

अपाङ्गलाई सहजरुपमा बस सेवा उपभोग गर्ने गरी अपागमैत्री बसपार्क निर्माण भएको इन्जिनियर थापाको भनाई छ । रात्री सेवालाई प्रभावकारी बनाउनको लागि सौर्य बत्ती जडान कार्य भइरहेको उनले जानकारी दिए । 

व्यवस्थित यात्रु प्रतिक्षालय, मिनी पुस्तकालय, शुद्ध खानेपानीको, व्यवस्थित शौचालय सहितको बसपार्क निर्माण भइरहेको गौरी पार्वती निर्माण सेवाका व्यवस्थापक आलोक मिश्रले जानकारी दिए । बिहान आएर बेलुका फर्कनेहरूले बसपार्कमै समान राख्न सक्ने व्यवस्था मिलाइएको छ । बसपार्कको पूर्वतर्फ निर्माण भएको भवनको भुइतलालाई यात्रु प्रतिक्षालय र पहिलो तल्लामा व्यवस्थित रेस्टुरेन्ट बनाइन लागेको उनको भनाइ छ । 

‘यसको अलावा त्यही भवनमा सुपथ मूल्यको बजार पनि सञ्चालन हुन्छ,’ उनी भन्छन्, ‘गाडी धुनको लागी बसपार्क भित्रै बस धुने व्यवस्था मिलाइएको छ ।’