Newslaya Home

डिडिसीको गोदाममै थन्कियो करोडौंको नौनी र पाउडर दूध

सोमबार १४, साउन २०७५

विराटनगर । यो वर्ष दुग्ध विकास संस्थान विराटनगरले उत्पादन गरेको पाउडर दूध र नौनी घ्यू गोदाममै थन्किएको छ । किसानबाट अत्याधिक दूध संकलन भएपछि दुग्ध विकास संस्थान उत्पादन गरेको पाउडर दूध र नौनी घ्यू खपत नभएको हो । 

गत वर्षसम्म संस्थानले झण्डै २० करोडको पाउडर दूध भारतलगायत तेस्रो मुलुकबाट खरिद गर्ने थियो । तर, यो वर्ष भने संस्थानले अन्य मुलुकबाट पाउडर दुध खरिद गरेन। 

पाउडर घोलेर आपूर्ति गर्नुपर्ने सुख्खा सिजनमा पनि दूधको संकलन वृद्धि भएपछि डिडिसिले उत्पादन गरेको पाउडरको मौज्दात बढेको छ। गत वर्षको कार्तिक महिनादेखि पाउडर उत्पादन सुरु गरेको डिडिसिसँग अहिले पाँच लाख किलोग्राम अर्थात पाँच सय मेट्रिक टन पाउडर मौज्दात छ। 

सुख्खा सिजनमा पनि पाउडर उत्पादन निरन्तर भएको र पाउडर घोल्न नपरेका कारण डिडिसिसँग भएका सबै गोदामहरू यतिबेला धेरै भएको छ। डिडिसिले विराटनगर, हेटौडा र काठमडौंमा पाउडर दूध र बटरको स्टक गरेको छ। 

अब पाउडर राख्ने गादामको नयाँ प्रबन्ध नगर्ने हो भने किसानको दूध किन्न नसक्ने अवस्थामा पुगेको आयोजनाले जनाएको छ। डिडिसिसँग पाउडर दूध मात्र होइन करिव सात लाख किलोग्राम नौनी (बटर) पनि मौज्दात रहेको छ। पाउडर दूध घोल्दा त्यसमा नौनी मिसाउनु पर्ने भएकोले नौनीको पनि मौज्दात गर्नुपर्ने हुन्छ। 

डिडिसिसँग २२ करोड ५५ लाख मूल्य बराबरको पाउडर दूध र करिव ६० करोड मूल्य बराबरको नौनी घ्यू गोदाममा थन्किएको छ। चालु पूँजी अन्तरगतको करिव ८० करोड रुपैयाँ बराबरको उत्पादन गोदाममा थन्किएपछि डिडिसिले किसानलाई समयमा दूधको मूल्य भूक्तानी गर्न सकेको छैन।