Newslaya Home

​​‘अब नगरका सबै स्कुलमा नाटक सिकाइन्छ’ : इनरुवाका मेयरसँग नाट्य वार्ता​ (भिडियोसहित)

मङ्गलबार १२, असार २०७५

सुनसरीको सदरमुकाम इनरुवामा मेयरको रुपमा राजन मेहता छन् । मेयर हुनुअघि उनको परिचय विभिन्न रह्यो । नाटक गर्ने कलाकारको रुपमा युवा अवस्था बिताए । त्यो समयमा उनलाई गुण्डाको उपमासमेत दिइन्थ्यो । उनले केही समय एनजिओ पनि चलाए । तर हक्की र स्पष्ट वक्ता मेहताले टिकट पाए अनि जिते पनि । अहिले पनि उनी हिजोका दिनमा गरेका कामलाई उत्तिकै सम्मान गर्छन् । त्यसमा पनि नाटकप्रति उनको अगाध श्रद्धा छ । नटराजको मूर्ती टेबलमा नराखी पदभार नै ग्रहण नगरेका मेहतासँग कलालय इटहरीका अध्यक्ष तथा सञ्चारकर्मी सोनु जयन्तीले नाटक वार्ता गरेका छन् । नाटक वार्ताको संक्षिप्त सार प्रस्तुत गरिएको छ ।

तपाईले आफ्नो जीवन विभिन्न भुमिकामा नाटक गरेर आदि जीवन बिताउनु भयो, अहिले आएर नगर सम्हाल्दै हुनुहुुन्छ । कस्तो फरक हुँदो रहेछ त ? 

कलाकारहरु भावनात्मक हुने भएकोले अरु भन्द फरक त फरकै हुन्छन् । कलाकारहरु संरक्षणवादी हुन्छन् । उनीहरु जे कुरालाई पनि जोगाऔँ, जगेर्ना गरौँ, राम्रो कामलाई प्रोत्साहन गरौँ भन्ने हुन्छन् । 

तर अहिले जीवनशैली जीवन जिउने तरिका नै परिवर्तन भइसकेको छ । अब पाँचवर्षको लागि इनरुवा नगरपालिकाको मेयर भइयो । यो इनरुवा नगरपालिकाको समग्र विकास, बसोबास, कृषि, शिक्षा सबै आफैले हेर्नु पर्छ । 

राज्यले कलालाई देखेन, रंगमञ्चलाई स्पेस दिएन भनेर हामी आवाज उठाउथ्यौँ । अब अहिले तपाई स्वयं प्रशासक हुनुहुन्छ, अब चाहिँ के हुन्छ त ?

यहाँ प्रज्ञा प्रतिष्ठान नै मैले गठन गरिसकेँ । विभिन्न क्षेत्रको खासगरि यो ठाउका विज्ञहरुलाई प्राज्ञ बनाएको छु । अब विभिन्न क्षेत्र कथाकारलाई, साहित्यकारलाई, नाटककारलाई स्थान दिएको छु । र राज्यले आजको मितिमा पनि रंगकर्मीहरुलाई कुनै स्थान नै दिएको छैन । साहित्यकारहरुको अवस्था पनि त्यस्तै छ कविहरुको अवस्था पनि त्यस्तै छ । 

तथापि मेरो स्थानमा चाहिँ मैले यहाँका कलाकारहरुलाई संरक्षण गर्ने र आवश्यक सहयोग गर्ने हो । मेरो कार्यकालमा चाहि कला साहित्य लगायतका जति पनि क्षेत्र छन् नाटक सबैले उचित स्तर पाउछन् । सबैले सम्मान पाउछन । र यो क्षेत्रमा संलग्न भइसकेपछि हात मुखसम्म जोडन सक्ने होस भन्ने हिसाबले कामहरु गर्छु । 

नाटक गर्दाका कुनै क्षण छ ? जुन अहिले सम्झिँदा एक प्रकारको रमाइलो लाग्छ ?

२०४९ साल तिरको कुराहो । हामी स्कुल पढथ्यौँ । ल साथि हो नाटक देखाउनु पर्छ भन्यौँ । त्यतिबेला हामीलाई एडभरटाइजिङ नाटक, स्टेज नाटक, सडक नाटकको बारेमा थाहा थिएन । अनि नाटक एउटा लेखियो गाइजात्राको बारेमा ।

त्यो नाटकमा एक जना महिलाको रोल गर्नुपर्ने भयो । त्यो रोल गर्न कोहि पनि तयार भएनन् । अनि त्यो रोल मैले आफैँले गरेको थिए । अनि त्यो लेडिजको लुगा र मेकअपका सामान मैले मागेर ल्याएको थिए । मसँग किन्ने पैसा थिएन । निकै दुःख गरेर नाटक गरेका थियौं ।

कुनै बेला एउटा समय थियो जुन समयमा राजन मेहेता भन्ने बित्तिकै मान्छेहरु त्रसित हुन्थे । किनभने दायाँबायाँ गरिदैछ राजन आउँछ भन्ने डर पनि थियो । त्यो समयलाई अहिले कसरी हेर्नुहुन्छ ? 

त्यो त एउटा युगको कुरा हो । दशक अगाडीको कुरा हो । अन्याय अत्याचारको विरोधै गरियो । बालबच्चा, महिला दिदीबहिनी, आमा रोएको देख्न सक्दिनँ । वहाँहरुको आवाज उठाउँदै गर्दा मलाई विभिन्न नाम दिइयो, खुसी नै छु । 

त्यो कामलाई अब जनप्रनिधि भइसकेपछि सिस्टमेटिक तरिकाले बनाउँदैछु । जनताले चुनेर पठाइसकेपछि पदीय गरिमालाई जोगाउनुपर्छ । स्कुल पढ्दा साथीभाईलाई धक्का लगाइयो होला, फुटबल खेल्दा कसैको खुट्टा भाँचियो होला । सामान्य कुरा हो ।

त्यो युवा अवस्थाकै कुरा पनि हो । अहिले अवस्था फरक छ । तर त्यतीबेला फ्रिडम थियो । अहिले मेरो हरेक दुई तीन दिनको सेड्युअल पहिला नै बन्ने गर्छ । 

भनेपछि यो नाटक (मेयरको भूमिका)मा तपाईलाई स्वतन्त्र छोडिएको छैन ?

(हाँस्दै) हजुर यो नाटकमा मलाई स्वतन्त्र छोडिएको छैन । कतिपय नाटक त स्क्रिप्ट बिनाको पनि गरेँ । एड्भर्टाइजिङ थिएटर भनेर काम गरेँ । त्यो नाटकको शीर्षक र विषय हुँदैनथ्यो । त्यसमा कला र कलाकारलाई स्वतन्त्र छोडेको थिएँ । 

एनजिओ चलाउँदै गर्दा मैले कला क्षेत्र र नाटकलाई कहिले पनि बिर्सिन । आज पनि बिर्सेको छैन । मैले अहिले मेरो कार्यालयको बैठक कोठामा र हलमा नटराजको पोस्टर पनि राखेको छु  र नटराजलाई एउटा स्तम्भ बनाएर यो कार्यालयको अगाडी स्थापना गर्ने योजना बनाएको छु । मैले त्यो नटराजको फोटो नराखुन्जेल मैले त्यो कुर्सिमा पनि बसिन र सपथ ग्रहण पनि गरिनँ । मेरो मनमा त्यती माया छ । 

कला साहित्य भनेको सफ्टवेयर निर्माण गर्ने कुरा हो । सफ्टवेयर बिना हार्डवेयर चल्दैन । कलाकार मेयर भएको सम्भवतः तपाई मात्र एक हुनु पर्छ । यहाँ चहि त्यो काम कसरी हुन्छ ?

यस्तो किसिमको इनरुवालाई बनाऔं कि यो काम चाहि फलानाको कार्यकालमा भएको हो होस् भन्ने उद्देश्य मेरो हो । त्यसकोलगि बाटो बनाउने, खोलानाला बनाउने स्कुल बनाउने, कलेज बनाउने अथवा हस्पिटल बनाउनाले मात्र पुग्दैन । जबसम्म यहाँ स्वच्छ, स्वस्थ्य र बौद्धिक नागरिक जबसम्म हुँदैन तबसम्म जतिसुकै राम्रो काम गरे पनि कुनै औचित्य छैन ।

अनुशासन बिनाको जनावर त काम लाग्दैन । त्यसैले जनावर पनि अनुशासित भएपछि मात्र आफ्नो नाम पहिचान दिलाउन सक्छ । त्यसैले एउटा मानिसमा अनुशासन हुनु पर्छ र स्वस्थ्य प्रतिस्पर्धा गर्नु पर्छ । एउटा भनाइ छ नि ‘विद्वान शत्रु चाहिन्छ, मुर्ख साथी होइन’ । 

मुर्ख साथीले जतिबेला पनि तपाइलाई दुख दिन सक्छ । केहि पाएन भने ढुंगाले हानिदिन्छ । तर विद्वान शत्रुले तपाइको व्यक्तिगत, तपाइको परिवार तपाइको आमा बुवालाई कहिले पनि हानि पुर्याउदैन । उसको शत्रुता विचारबाट हुन्छ । जुन कुरा तपाइको मन पर्दैन, उसले ठाडो विरोध गर्छ ।

कला विना समाजको परिकल्पना नै गर्न सकिन्न । जसरी नारी विनाको संसार र समाज हुँदैन, त्यस्तै हो । 

तपाई अहिले राज्यको निकायमा हुनुहुन्छ, अहिले चाहिँ किन राज्यले वेवास्ता गरे जस्तो लाग्छ तपाईलाई ? 

नेपाल पुरुष प्रधान देश हो । संविधानको व्यवस्थाअनुसार महिलाका धेरै व्यवस्थाहरु संरक्षित भइसकेका छन् । तर त्यो अझैसम्म पनि एउटा किताबको पाना जस्तो भएको छ, व्यवहारमा लागु भइसकेको छैन । महिलाको इज्जत केबल नाटकिय रुपमा मात्र भएको छ । यथार्थमा छैन । प्रत्येक स्थानीय तहमा प्रत्येक प्रदेशहरुमा वैद्यानिक व्यवस्था अनुसार महिला प्रतिनिधि पठाएको छ । तर बाँधिएर पठाइएको छ । 

अहिलेसम्म मेयर पदको लागि कुनै पनि पार्टीले महिलालाई टिकट दिएको छैन । प्रायःजसो ठाउँमा उपमेयर मात्रै बनाएको छ । के हुन्थ्यो त ९९ प्रतिशत महिलालाई पाँच वर्षको अवधिसम्म एकचोटि मेयर बनाएर हेरेको भए ? हाम्रो छिमेकी मुलुक भारतले यस कुराको अभ्यास गर्दै छ त । हामीले चाहिँ किन गर्न नहुने ?

त्यसैगरी कला, साहित्यले समाजलाई सुरीलो र अनुशासित बनाउँछ । गानाले मान्छेलाई थेरापी दिन्छ । गीतसंगीतले मानिसलाई बोल्न सिकाउँछ, कान पवित्र बनाउँछ । धर्मग्रन्थै हेरौं न प्रत्येक धर्मग्रन्थमा कला र साहित्यको चर्चा छ । साहित्यकार, कथाकार र कवि नभएको भए विभिन्न धर्मका ग्रन्थ कसले लेख्थे ?

अबको ५० वर्षपछिको नेपाल सम्झनुहोस् । शायद हामी कोही रहँदैनौं । सायद ५० वर्षपछि नेपाल चलाउने मान्छे अहिले जन्मेको छैन होला र जन्मेको भए त्यसलाई कुन वातावरणमा राखिएको छ ? 
२० वर्ष अगाडीको शिक्षाको स्तर र अहिलेको शिक्षाको स्तर अहिले अलि खस्केको देख्छु । 

यो भन्दा अगाडीको राज सरकारले वा प्रशासनले कला साहित्यलाई चाहि किन टाढा ठेलेको होला ? अहिले तपाई यो ठाउँमा पुगेपछि कस्तो महसुस गर्दै हुनुहुन्छ ? 

लगाव हुनुपर्छ । तपाई कुन क्षेत्रबाट आउनु भयो, तपाई कस्तो परिवेसबाट हुर्केर आउनु भयो त्यसले तपाइको सोँच बनाउँछ । र त्यो सोँच भएको, इच्छाशक्ति भएको नेता आएन । सरकार आएन ।

आज नेपालको दुइ–चार वटा जिल्ला जानुभयो भने तपाईलाई स्वर्गमा आएजस्तै लाग्छ । र त्यो सुन्दरता बुझ्नु पर्यो नि त । फरक क्षमता भएका आँखा नदेख्ने मान्छेलाई सात वटा कलर देखाउनु भयो भने उसले कसरी थाहा पाउँछ ?
कला, साहित्य, संस्कृतिलाई सबै मानिसले बुझ्न सक्दैन । एउटा कविको कविताको व्यङ्ग्य सबै मान्छेले बुझ्न सक्दैनन् । 

अब इनरुवामा पाँच वर्ष पछि त्यो अवस्था नआउला । 

अब कला सम्बन्धी कोर्षमा पनि लागु हुन्छ । यहाँका विद्यालयहरुले नाटक सिकाउनु पर्छ, शिक्षक राख्नु पर्छ, होइन भने म विद्यालयहरुलाई स्वीकृति दिन्न नि । सेलेवसमा पनि समावेश गर्नुपर्छ । एउटा जीवन यापनको शैलीलाई परिवर्तन गर्न पनि नाटक सिक्नुपर्छ । 

यो सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, भाइबर आदिको नकारात्मक असरलाई हटाउनको लागि पनि नाटक सिक्नुपर्छ । मानिसले आफैले आफैलाई सम्हाल्न पनि कला सिक्नुपर्छ । र त्यो उद्देश्यअनुरुप यो नगरपालिकामा काम हुन्छ ।