Newslaya Home

​पेटेन्ट उल्लंघन गरेको भन्दै ब्लाकबेरीले हाल्यो फेसबुकविरुद्ध मुद्दा

बिहीबार २४, फागुन २०७४

काठमाडौं । क्यानडाको टेक्नोलोजी कम्पनी ब्लाकबेरीले फेसबुक तथा उसका अन्य दुई भ्रातृ कम्पनीहरु ह्वाट्सएप र इन्स्टाग्रामविरुद्ध मुद्दा हालेको छ । 
बौद्धिक सम्पत्ति अर्थात् पेटेन्ट उल्लंघनको आरोप लगाउँदै ब्लाकबेरीले फेसबुकविरुद्ध मुद्दा हालेको हो ।
फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले आफ्नो ब्लाकबेरी मेसेन्जरको प्रविधि तथा फिचर्स हुबहु नक्कल गरेको ब्लाकबेरीको दाबी छ ।
ब्लाकबेरीले अमेरिकाको लस एन्जल्स संघीय अदालतमा मंगलबार पेटेन्ट उल्लंघनको मुद्दा दर्ता गरेको हो ।
ब्लाकबेरीले मुद्दा दर्ता गर्दै फेसबुक विरुद्ध कानूनी कारवाहीको चेतावनी दिएको छ । ब्लाकबेरीका अनुसार फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामले ब्लाकबेरीको बौद्धिक सम्पत्ति अधिकार अर्थात् आइपीआर उल्लंघन गरेका छन् । त्यसैले ती कम्पनीविरुद्ध कानूनी कारवाही गर्नु उसका शेयरधनीहरु प्रतिको दायित्व हो ।
यस विषयमा फेसबुकका जनरल काउन्सिल पल ग्रेवालले प्रतिक्रिया दिँदै भने, ‘ब्लाकबेरीको तर्फबाट दर्ता गरिएको मुद्दाले कम्पनीको मौजुदा मेसेजिंग बिजनेसको अवस्थालाई दर्शाउँदछ । कम्पनी आविष्कारको मोर्चामा विफल भएसँगै अब अरुको आविष्कारमाथि प्रश्न गरिरहेको छ । हामी यसको विरुद्धमा लड्नेछौँ ।’