कथा : टेबल नम्बर ६

Newslaya Home

कथा : टेबल नम्बर ६

- हिमाल दाहाल
बुधबार ०२, फागुन २०७४

भ्यालेन्टाइन डेको दिन । सुनसान प्रायः इटहरी चोक । युवा–युवतीहरू फाट्टफुट्ट मात्र भेटिन्थे त्यो दिन । होटलको छ नम्बरको टेबलमा बसिरहेका एक जोडी युवा–युवतीलाई मैले निकै बेरदेखि नियालिरहेको थिएँ । 
लामो कपाल पालेको युवकले आफूसँगै टाँसिएकी युवतीलाई मायालु आँखाले निकै अघिदेखि हेरिरहेको थियो । दुवै केही पनि बोलिरहेका थिएनन् । वातावरणमा सन्नाटाको साम्राज्य थियो ।
‘के खाने ?’ केटाले आइसब्रेक गर्यो ।
गालामा हात लाएर बसिरहेकी केटी केटाको प्रश्नले झस्की । केही बोलिन । मात्र, अमन भएको भावमा टाउको हल्लाई ।
‘के खाने ?’ केटोले फेरि सोध्यो ।
‘केही नखाने’ केटातिर पुलुक्क हेर्दै केटीले मसिनो तर गह्रौं स्वरमा उत्तर दिई । लगत्तै अर्कोतिर फर्की ।
...
केटोले होटलको साहुजीको कानमा केही भन्यो । क्षणमै एक प्लेट दही आइपुग्यो । दहीमाथि दुई वटा चम्चा ।
‘खाऊ’ केटोले केटीतिर प्लेट सार्यो । 
केटीले गह्रौ पाराले चम्चा उठाई । मन नलाग्दा–नलाग्दै एक चम्ची दही मुखमा हाली । केटोले केटीको अनुहारमा एक टक लाएर हेरिरह्यो । 
उसको आँखामा माया र दयाका भावहरू एक साथ उम्लेर आइरहेका थिए । केटीको टिठलाग्दो अवस्थालाई देखेर उसले शायद विगत सम्झ्यो । अनि वर्तमानसँग त्यसलाई दाँज्यो । केटीलाई हेरेर सोच्दा सोच्दै उसका आँखाभरि आँसु देखिए ।
आफूलाई एकोहोरो हेरिरहेको आभास पाएर केटीले पनि केटालाई हेरी । दुवैका आँखा केही क्षणका लागि जुधे । दुवैका आँखामा आँसु भरिए । केटोले मायालु पाराले केटीको गालामा हात राख्यो । केटीको भक्कानो फुट्यो । केटोको छातीमा टाउको अड्याएर रुन थाली ।
...
होटलको त्यो दृश्यले मेरो मन पनि अमिलियो । खासगरी केटीको विरक्तलाग्दो अनुहार, केटोको सङ्घर्षशील आँखा र नबोलेरै पनि चलिरहेको दुई बीचको संवादको त्यो क्षण मार्मिक थियो । मैले सोचेँ यथार्थ बुझौँ । तर, उनीहरूलाई बाधा पुर्याउन मन लागेन ।
एकछिनपछि केटीका आँसु थामिए । केटाको छातीबाट टाउको उठाएर आफ्नो निधारको पसिना पुछि अनि मुख टम्म बाँधेर छानोतिर हेर्न थाली । केटाले केटीको हात समायो । अनि मायालु पाराले सुम्सुम्यायो । 
हातमा देखिएको एउटा दागलाई देखाउँदै सोध्यो, ‘के भएको यो ?’
केटीले भक्कानिसकेको मन सम्हाल्दै बिस्तारै भनी, ‘चुरोटको ठुटाले पोलेको ।’
केटोले कुरा बुझ्यो । टेबलमा मुड्की बजार्यो । प्लेटको दही थरर्र थर्केर लहरहरू देखिए । तर, केटीको स्थितिलाई त्यसले कुनै असर पारेन । ऊ अघिझैँ शान्त र आँखाभरि आँसु लिएर बसिरही ।
...
त्यही समयमा टेबल नम्बर छमा एउटा अर्को मानिस आइपुग्यो । कपाल अलि लामैसँग पालेको त्यो मानिस आउनासाथै केटोले बस्नको लागि ठाउँ छोड्यो । अनि केटी पनि सम्हालिई ।
‘कतिखेर आइपुगिस् ?’ त्यो मानिसले सोध्यो ।
‘हिजो बेलुका,’ केटीले मलिनो स्वरमा उत्तर दिई ।‘कहाँ बसिस् ?’‘मैले राखेको थिएँ,’ केटोले भन्यो ।‘कस्तो छ अहिले ?’ कपाल पालेको युवकले फेरि सोध्यो । केटी केही नबोलेपछि फेरि भन्यो, ‘मैले त जानुअघि नै भन्दै थिएँ, फसाउँछ, राम्रो काममा लाउँदैन, बिजोक हुन्छ भनेर । बहिनी भएर दाजुको यत्ति कुरा मानिदेको भए, यस्तो हँुदैनथ्यो ।’
...
‘जे हुनु भइहाल्यो । स्वास्नी हो, पाल्छु भनेर ल्याएको हुँ, अब मै गर्छु । तँ घर हेर,’ केटोले भन्यो ।
दाइ चाहिँले थप्यो, ‘अब घरमै बस्ने । पहिले उपचार गर्ने । अनि यतै काम गरेर बस्ने । अर्को देशमा धेरै कमाउन गएको होइन । के पायो ? झन्डै मरिस् ।’
केटी रुन थाली ।
‘नरो । तैँले पहिले मेरो छोराको लागि आफ्नो घर छोडिस् । हाम्रो कुरा नसुनी तैँले देश छोडिस् । अब पनि त्यस्तै गरिस् भने कुकुरले नपाएको दुःख पाउँछेस् जिन्दगीभर ’ दाइ चाहिँले सम्झायो । केटीले केही भन्न सकिन । 
केटो पनि केही बोलेन । टेबल नम्बर छको त्यो दृश्य केही मिनेटमै सकियो ।
...
उनीहरू हिँडेपछि यौटा अर्को जोडी आएर बस्यो ।