Newslaya Home

​यी हुन् प्रदेश–१ बाट राष्ट्रियसभामा विजयीहरु

सोमबार १५, माघ २०७४

इटहरी । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश नम्बर १ बाट ६ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोमबार ८ जनामध्ये ६ जना निर्विरोध निर्वाचित भएको तथा २ जनाका लगि मतदान हुने जानकारी दिएको छ । 
प्रदेश नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार खुलातर्फ एमालेका परशुराम मेघी गुरुङ (संखुवासभा), कांग्रेसका रमेशजंग रायमाझी (मोरङ) र एमालेका हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित भएका छन् । यस्तै, महिलातर्फ एमालेकी नैनकला ओझा (मोरङ), माओवादी केन्द्रकी बिना पोखरेल (मोरङ) र कांग्रेसकी सरिता प्रसाईं (झापा) निर्विरोध निर्वाचित भएका छन् ।
अब माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्बर १ मा दलित र अल्पसंख्यक गरी दुई पदका लागि मतदान हुनेछ । उक्त पदका लागि ४ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन् ।
दलिततर्फ १ पदका लागि नेकपा एमालेबाट खेमराज नेपाली र नेपाली कांग्रेसबाट बिनकुमार विश्वकर्मा चुनावी मैदानमा छन् । त्यस्तै, अल्पसंख्यक र अपाङ्गतातर्फ एमालेबाट अगमप्रसाद बान्तवा राई र कांग्रेसबाट महेशकुमार जाजु चुनावी मैदानमा छन् ।
अल्पसंख्यक र अपांगतातर्फ राप्रपाका अनुपमादेवी साह र अन्य समूहबाट एमालेका खड्गप्रसाद बस्नेतले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ६ जना निर्विरोध निर्वाचित भएका हुन् ।