Newslaya Home

कांग्रेसी नेताहरु अबको ५ वर्ष बाम सरकार हेर्नुहोस्

–डा. बद्रीविशाल पोखरेल
बिहीबार ३०, कार्तिक २०७४

नेपाली कांगे्रस अहिले बाम तालमेल र तिनका बीच हुने आगामी पार्टी एकता विषय विरुद्धका अनर्गल विचारको प्रवक्ता बनेको छ । भने बाम गठबन्धन तिनै झूट र फरेवको तथ्यपरक खण्डन गरिरहेको देखिन्छ । लाग्छ यी दुवैका बीच चुनावी दाहोरी चलिरहेको छ । नेपाली कांग्रेसका तत्कालिन सभापति तथा भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देशलाई नै ढाँटेर टनकपुर सन्धी गरेका थिए ।
उनै कोइराला प्रधानमन्त्री हुँदा गाउँमा ७० प्रतिशत बजेट गाउँको विकासमा छुट्याएको जनता झुक्याउने भाषण गर्थे । तर मनमोहन सरकारले आफ्नो गाउँ आफैँ बनाउँ अभियान अन्तर्गत प्रदान गरेको ५ लाखबाट २५ लाखसम्मको बाटोघाटो र खानेपानी लगायत आज जनताले देख्ने गरी काम भएको छ ।  

आजसम्मका सबै विकासे कामहरु हाम्रै पालाबाट सुरु भएको अर्को झुट कांग्रेस भट्याउँदैछ । कांग्रेसलाई संसद्मा दुई  तिहाइ दिए पनि प्रजातन्त्र समेत जोगाउन सकेन र संसद्मा  बहुमत दिएपनि कांग्रेस आफैँ आफ्नो बहुमतको संसद् र सरकार आफँै गिराउँछ र तमासा देखाउँछ । कांग्रेसलाई जुन जुन जिम्मवारी जनताले हालसम्म दिए त्यसको जिम्मेवारी, अभिभारा कांग्रेसले कहिल्यै पूरा गर्न सकेन । यस्तो कुलक्षण देखीदेखी कांग्रेस उम्मेद्वारहरुलाई किन भोट  दिने र विजयी गराउने गम्भीर आशंका आम मतदाताका बीचमा रहेको छ । ०४६ पछि मात्र नेपाली कांग्रेसले १६ वर्ष जति सरकार र सत्ता चलायो । तर देश, जनता र जनजीविकाको सबालमा फुट्टो काम गरेको देखिएन । 

लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा कांग्रेस लागेकै हो तर जब आन्दोलन एक चरण सफल हुन्छ, देश अग्रगमनतिर जान खोज्छ अनि कांग्रेस अनेक निहुँ र बहानामा सहमति र सहकार्यको मार्गबाट भाग्छ, बटारिन्छ, बाउँठिन्छ र भाँडिन्छ अनि उपलब्धिको रक्षा गर्ने बेलामा त्यसको विरुद्धमा कसको इसारामा कांग्रेस उभिन्छ केही थाहा हुन्न ।
अनि देश र जनताले बारबार जित्दा जित्दै कांग्रेसका कारण हार खानु परेको कुरा के.पी शर्मा ओली बताउनुहुन्छ । ओलीले नै वैदेशिक हेला, होचो र हस्तक्षेपका विरुद्ध नेपालीले तिनसित लड्नु पर्दैन हामी एक ढिक्का हुँदा र अडिँदा हुन्छ भन्नुहुन्छ तर कांग्रेस पटक्क देश र जनताको भलो कुरा र काम सुन्न र गर्नै चाहँदैन ।  

भूतपूर्व प्रधानन्यायाधीश तथा न्यायमूर्ति सुशील कार्कीले नेपाली कांग्रेसका नेताहरु न्यायालयलाई चरम दुरुपयोग गरेर निकृष्ट स्वार्थ साधना गर्दा रहेछन् भन्ने पोल सार्वजनिक रुपमा खोलिदिनु भयो । एक इमान्दार राष्ट्रसेवक नवराज सिलवालका  बारेमा कांग्रेस र यसको सरकारले अनेक जालीझेली काम गरेर अर्को तमासा नै देखायो । कांग्रेस पार्टीमा इमान,जमान र विवेक भन्ने देखिँदैन । मानौँ कांग्रेस झूटको पुलिन्दा हो । हाल सम्मका तमाम गतिविधिबाट यस्तै देखिन्छ र बुझिन्छ । जस्तो नेता त्यस्तै कार्यकर्ता । त्यसैले देशलाई नै ठग्नेहरुले चुनावका बेला आमजनता र मतदाताहरुलाई अनेक राजनीतिक भ्रमजाल र झूट बोलेर रनभुल्लमा पार्न खोज्नु कुनै अनौठो कुरा होइन । झुट बोल्ने बानी भएपछि साँचो बोल्न सकिन्न र साँचो बोल्ने बानी परेपछि झुट बोल्न मुखै लाग्दैन । एक झुटलाई छोप्न दश  झुट बोल्नु पर्छ तर पनि साँचो डग्दैन झुटो टिक्तैन । 

 यस देशको स्थिर राजनीति र  स्थायी  सरकारका पक्षमा सुरु  भएको बाम तालमेलका विरुद्ध कांग्रेस जेहाद छेडेर लागेको देखिन्छ । भारतीय सरकार र सत्ता पनि यो तालमेल र आगामी सुनिश्चित एकताका विरुद्ध कटिबद्ध देखिन्छ । अनि किन कांग्रेसको विचार भारतीय शाषकको विचारसित ठ्याम्मै मिल्छ ? हुन त नमिल्नु कुन भारी बात भयो र भारतले गरेको नाकाबन्दीलाई नाकाबन्दीसम्म भन्न नसक्ने कांग्रेस भारतीय शासकका अगाडि सिर नै ठाडो पार्न सक्तैन अनि बरु भारतीय थिचोमिचोका  विरुद्ध आवाज बुलन्द गर्ने स्वाभिमानी, राष्ट्रवादी ,इमान्दार र आदर्श छविका धनराज गुरुङलाई पार्टीले दुत्कार्छ र धिक्कार्छ ।  उनलाई पार्टीले सांसद्को टिकट नै दिएन । यस्ता अरु पनि  इमानी कांग्रेसी नेताहरु पार्टी आदर्शका लागि बलि चढ्न तयार छन् तर लोभीपापीहरुको झुण्ड बनेको कांग्रेस पार्टी आफ्नो गौरवशाली विरासद् बिर्सिएर चुनावी मुद्दाका आभावमा बामविरुद्ध बर्बराउन थालेको छ ।  

भारतीय शाषकद्वारा नेपालको दक्षिणी  सीमा अतिक्रमणलाई भारतीय अतिक्रमण भन्न नसक्ने, भारतीय स्वार्थ अनुसार पार्टी र सरकार चल्ने कांग्रेसलाई जय नेपाल भन्न सुहाउँछ ? प्रंधानमन्त्री शेरबहादुर देउवाले  भारतीय प्रधानमन्त्री मोदी सामु लम्पसार परेर अहिले नसके पनि फेरि आदेश बमोजिम संविधान संशोधन गर्छु हजूर भन्नुलाई कुन देशको प्रधानमन्त्री भन्नु ?  अनि कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट सुनसरी १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार अशोक राई संविधान संशोधनको बिटुलो राग गाउँदैछन् । तर देश,जनता र जनजीविकाका सबालमा धराने आम जनताको मन जितेका बाम गठबन्धनका सर्वसम्मत उम्मेद्वार तथा एमाले नेता जयकुमार राई अशोकका लागि चुनावी भारी शोकका विषय बन्दैछन् । 

कांग्रेसका जननायक बीपी कोइराला देशको स्वाधीनता र स्वअस्तित्वमा अडान लिनु हुन्थ्यो । तर अहिले कांग्रेस उल्टो बाटोमा हिँडिरहेको छ ।  यस्तै चाला हो भने कांग्रेसको आसन्न अवसानलाई कसैले रोक्न सक्तैन । तथापि धनराज गुरुङ, प्रदीप भट्टराई, चन्द्र भण्डारी र गुरुराज घिमिरेहरुको इमान हेर्दा यिनले पार्टीको आदर्श बचाउन पनि सक्छन् र  बचाउन् पनि । किनकि एउटा ऐतिहासिक अभिभारा पूरा गरेको पुरानो पार्टी जसरी पनि इमानका साथ जुट्नु र उठ्नु जरुरी छ । अहिले  बाम गठबन्धनले स्थिर राजनीति र स्थायी सरकार बनाएर देशको विकास र समृद्धिमा ठूलो सघाउ पुर्याउने उद्देश्य राखेको छ  । देशको राजनीतिक स्थिरता र समृद्धिका लागि बाम गठबन्धनको जीत अपरिहार्य छ । 

कमजोरीको पहिलो कुरा आफूमा निहित हुन्छ । पार्टी र त्यस भित्रका समस्याहरु समाधान गर्न पटक्कै ध्यान नदिएर एकोहोरो विपक्षीका अनेक सकारात्मक काम देखेर मुर्छा पर्ने गरी बिलौना गर्नु कांग्रेसका लागि  कुनै सुहाउने कुरा होइन ।  

२००७ सालदेखि पटक पटक मुलुकको नेतृत्व सम्हालेको कांग्रेसले अहिलेसम्म देश र जनताले देख्ने र अनुभूत गर्ने गरी के ग¥यो हात लागी शून्य हुन्छ । तर एमाले नेतृत्वका दुई नौ महिने सरकारले  गरेका कामहरु आम जनताले देख्नु मात्र होइन अनुभूत नै गरेका छन् । कांग्रेसी नेताहरु अब कम्युनिष्टको नै सरकार बन्छ । आदरणीय मनमोहन अधिकारीको सरकार र केपी शर्मा ओलीको सरकार कम्युनिष्ट सरकार नै देश र जनताको हितको सरकार हो  । यस देशको भलो गर्न कम्युनिष्ट सरकार नै चाहियो । कम्युनिष्ट सरकारले नै कांग्रेसका पक्षमा जानी नजानी लागेका निर्धन, निम्न, निम्न मध्यम, मध्यम वर्गका जनताको हित गर्छ । कम्युनिष्ट सरकारले नै राष्ट्रिय पुँजी र पुँजिपतिको संरक्षण गर्छ । एउटा राष्ट्रिय पुँजिपतिलाई राज्यले संरक्षण ग¥यो भने उ सबल बन्छ र अरु धेरै उतपादनमूलक उद्योगहरुको स्थापना र विकास गर्छ । यसो भयो भने नेपालीहरुले रोजगार पाउँछन् । 

अहिले भारतीय शाषाकका खोटी व्यवहारका कारण नेपालमा उत्पादित अदुवा, अलैँची आदि भारतहुँदै बाहिर निकासी हुन पाएका छैनन् । यस क्षेत्रका व्यापारीहरुले धेरै दुःख पाएको  कुरा कांग्रेसी सरकार सुन्नै चाहँदैन । अब तपाईको बामगठबन्धन विरोधी कुरा कसले पत्याउँछ ? उहिले पनि तपाईंहरुसित देशको विकासका कुनै नीति, सिद्धान्त र कार्यक्रम केही थिएन र एमालेको कम्युनिष्ट सरकार आयो भने बुढाबूढी मारिन्छन्, भारतबाट नुनतेल बन्द हुन्छ, धर्मकर्म मान्न पाइन्न आदि आदि झूट आम जनातका बीचमा छर्नु भयो । आखिर नकारबाट सकार भयो, ज्येष्ठ नागरिकले भत्ता पाए ।  अहिले पनि तपाईहरु कम्युनिष्ट सरकार आयो भने फेरि उही पुरानै पाराको तर नयाँ तानाबानाको फरेबी प्रचार गर्न लाग्नु भएको छ । कम्युनिष्टको बहुमत आयो भने एकदलीय शासन सुरु हुन्छ, समाजवाद हुँदै साम्यवाद आउँछ, अधिनायवाद आउँछ । जनताले रुन र हाँस्न पनि पाउँदैनन्, देश चरम गरीवीको दलदलमा पर्छ । जाने जत्ति आरोप र फतुर तपाईहरु लगाउँदै हुनुहुन्छ । दीर्घकालीन राजनीति गर्ने जो कोही  प्रतिभाले सारा फरेबी  मुखपात्र बन्न सुहाउँदैन । के गर्नु हुन्छ तपाईहरुसित देश, जनता र जनजीविकाका लागि भन्ने एउटा सम्म पनि काम देखिएन अनि विपक्षीलाई पाँडेगाली गर्नु बाहेक अर्को कुनै विकल्प पनि छैन । 

गिरिजाप्रसाद  कोइराला पार्टी सभापति र  प्रधानमन्त्री हुँदा मित्रराष्ट्रहरुले उपहार स्वरुप प्रदान गरेका दर्जनौँ उद्योग धन्दाहरु निजीकरणका नाममा बेचियो । यसरी बेच्दा हजारौँ नेपाली नागरिक बेरोजगार हुन गए । विदेशी एकाधिकार पुँजिवादीको लहैलहैमा लागेर नेपाललाई  उनीहरुको एकलौटी  उपभोक्ता वजार बनाउने ध्येयले कांग्रेसले यो पुनीत काम सोची सम्झी गरेकै  हो । अझ कम्युनिष्ट सरकार नै चाहियो किन भने खुल्ला बजार अर्थतन्त्रका नाममा लुटतन्त्रबाट आम श्रमजीवी जनतालाई दैनिक आधारभूत उपभोग्य बस्तुहरु सुलभ मोलमा दिनु र उपलब्ध गराउनु छ । कांग्रसी नेताजी तपाईहरुको समाजवाद मुठ्ठीभर शक्ति र सामथ्र्यहरुलाई मात्र काम लाग्छ । गरीवसित विश्वेश्वर भने पनि यो तपाईहरुको मात्र चुनावी र सतही नारा हो  । तपाईंहरु बाघ र बाख्रालाई एउटै खोरमा राखेर समान न्याय दिलाउने भ्रमित कुरा गनर््ुहुन्छ । तर बाम गठबन्धन संविधान, नियम र कानूनमा रहेका सबै खालका शोषण, अन्याय र विभेदहरु हटाएर शोषित पीडित तथा आम श्रमजीवी जनता केन्द्रित विकास निर्माण गर्न चाहन्छ । त्यसैले देश र जनताका खातिर अहोरात्र इमान्दारिताका साथ लागि पर्ने गठबन्धनका सर्वसम्मत उम्म्द्वारहरुले जित्नु अनिवार्य देखिन्छ । 

कम्तीमा देशको राजनीतिक स्थिरता, विकास र समृद्धिका लागि यसो गर्नु र हुनु अपरिहार्य रहेको छ र एक जुगमा एक दिन र  एकपल्ट आएको यो अवसरलाई तमाम नेपाली मतदाताहरुले सदुपयोग गर्न जरुरी देखिन्छ । कांग्रेसी नेताहरुले  बाम बहुमत सरकारका काम हेर्नुहोस्, कसरी जनताको हितमा काम गर्न सकिँदो रहेछ सिक्नुहोस्, अब पाँचवर्ष कम्तीमा धैर्य गर्नु होस् प्रतिक्षा गर्नुहोस् । विपक्षमा बस्नुहोस् ।

(लेखक एमाले संस्कृति विभागका केन्द्रीय सदस्य हुन् ।)