​विन्डोज १० प्रमुखले समेत एन्ड्रोइड फोन बोक्न थाले

Newslaya Home

​विन्डोज १० प्रमुखले समेत एन्ड्रोइड फोन बोक्न थाले

मङ्गलबार २४, असोज २०७४

काठमाडौं । माइक्रोसफ्ट कम्पनीले आफ्नो स्मार्टफोन अपरेटिङ सिस्टमको महत्वकांक्षा त्याग्ने निर्णय गरेको छ । 
कम्पनीको विन्डोज १० अपरेटिङ सिस्टमका प्रमुखले एक ट्विटमार्फत यस अपरेटिङ सिस्टमको मोबाइल संस्करणका लागि नयाँ फिचर र हार्डवेयर विकास गर्ने कार्यमा अब केन्द्रित नहुने प्रष्ट पारेका छन् । विन्डोज १० प्रमुख जोए बेलफायोरले आफूले समेत एन्ड्रोइड मोबाइल प्रयोग गर्न थालेको खुलासा गरेका छन् ।
विन्डोज १० मोबाइलले कम्प्युटर र फोन दुबैमा चल्ने एउटै विश्वव्यापी एपहरु प्रयोग गर्ने मौका दिएर प्रयोगकर्तालाई आफुतर्फ आकर्षित गर्न खोजेको थियो, तर सफल हुन सकेन । विश्वको स्मार्टफोन अपरेटिङ सिस्टम मार्केटमा विन्डोज अपरेटिङ सिस्टमको हिस्सा अहिले केवल ०.०३ प्रतिशत मात्र रहेको छ । त्यसैले यो अपरेटर्स तथा रिटेलर्सका लागि खासै आकर्षक बन्न नसकेको मार्केट इन्टेलिजेन्स कम्पनी आइडिसीले जनाएको छ । 
विन्डोज १० प्रमुख बेलफिओरले आइतबारदेखि चरणबद्ध रुपमा ट्विट गरिरहेका छन् र उनले यसक्रममा एन्ड्रोइड र आइओएसका लागि जारी गरिएको माइक्रोसफ्ट एज वेब ब्राउजरको नयाँ संस्करणका बारेमा चर्चा गरेका छन् ।
विन्डोज १० मोबाइल अपरेटिङ सिस्टमबारेको ट्विटहरुको प्रश्नको जवाफ दिँदै उनले अहिले विन्डोज अपरेटिङ सिस्टम प्रयोग गरिरहेका प्रयोगकर्तालाई कम्पनीले सेक्योरिटी अपडेट तथा बग फिक्सिङ लगायतमा सहयोग गर्ने भएपनि अब यस अपरेटिङ सिस्टमका लागि नयाँ फिचर र हार्डवेयर उत्पादन गर्ने कुरा कम्पनीको प्राथमिकतामा नपर्ने बताए । साथै उनले हार्डवेयरको विविधताका लागि आफुले एन्ड्रोइड फोन प्रयोग गर्न थालेको खुलासा गरे ।
यसअघि माइक्रोसफ्टका संस्थापक बिल गेट्सले समेत आफुले विन्डोज फोनको साटो एन्ड्रोइड फोन प्रयोग गर्न थालेको बताएका थिए । साथै एचपी कम्पनीले समेत अब विन्डोज १० मोबाइल ह्याण्डसेट उत्पादन नगर्ने घोषणा गरेको थियो ।
उता बेलायतको विलेफक्स र जर्मनीको ट्रेकस्टरले भने विन्डोज १० अपरेटिङ सिस्टमयुक्त नयाँ मोबाइल फोन हालैमात्र सार्वजनिक गरेका छन् ।