Newslaya Home

पहाडी र मधेसीको सदभावको पर्व छठ (फोटो फिचरसहित)

मङ्गलबार २७, कार्तिक २०७५

धरान । सद्भाव बढाउने पर्वको रुपमा विकसित हुँदै गएको छठ पर्व धरानका पहाडी र मधेसी समुदायले सामुहिक रुपमा मनाएका छन् । 

पछिल्लो समय छठ पर्व पहाड र मधेशलाई जोड्ने सेतु बनिरहेको छ । सूर्यको उपासना गर्दै मनाइने यो पर्व ४० को दशकको मध्यसम्म तराई केन्द्रित थियो तर त्यसपछिका वर्षहरुमा भने तलाउ र नदीकिनारहरुमा छठ पूजा गर्ने पहाडीहरुको बाहुल्यता पनि बाक्लिँदो छ ।

केही वर्ष अघिसम्म छठ पर्व मधेशी समुदायको मात्र भएको सोचाइ थियो तर अहिले यो बुझाइ तोडिँदै गएको छ ।

मिथिलाञ्चल वासीको महान पर्व छठको आज तेश्रो तथा मुख्य दिन व्रतालुहरु भक्तिभावका साथ धरानको सर्दु र सेउती खोलामा जम्मा भई साँझ अस्ताउदो सूर्यलाई अर्घ दिई छठीमाताको पुजा अर्चना गरेका छन् । छठ पर्व पनि हिन्दु धर्म भित्रै पर्ने भएकाले पहाड मधेसमा रहेका हिन्दु धर्मावलम्बीहरुको सदभावको पर्व बन्न थालेको छ । 

नदी, पोखरी तथा जलाशयको किनारमा पूजा गर्दै भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर घर फर्किएपछि मात्र व्रत समाप्त हुनेछ । विभिन्न समुदायगत विद्वेशहरु फैलिरहँदा चाडपर्वले नेपालीहरुमा भाईचाराको सम्बधलाई अझै मजबुत बनाउँन लगेको छ ।