Newslaya Home

नयाँ वर्ष : नयाँ संकल्प

सोमबार १६, साउन २०७४

भूकम्पले क्षत विक्षत नेपाली मनहरु गाँसिइसकेकै छैनन् । नाकाबन्दीको घाउ अझै कतिको मनमा आलै छ । देशको राजनीतिक अस्थिरता, नेताहरुको राजनीतिक अदूरदर्शीता तथा जिम्मेवार व्यक्ति तथा संस्थाहरुको गैह्रजिम्मेवार गतिविधिका कारण नेपालीहरुको मन दुःखेको त झन् निकै लामो समयदेखि हो । तर यी फाटेका, भत्केका, दुःखेका मनहरु लिएर पनि हामी नयाँ वर्षमा रमाउने प्रयास गर्दैछौं, किनकी नयाँ वर्षले हामीमाझ नयाँ सम्भावनाको ढोका खोल्दैछ ।
हामी झण्डै दुई दशकपछि आउन लागेको स्थानिय निकायको निर्वाचनको संघारमा छौं । यो निर्वाचनले स्थानिय स्तरमा विकास गर्नसक्ने नयाँ नेतृत्व ल्याउँदैछ । आफ्नो गाउँ, नगर विकास गर्नसक्ने नेतृत्व ल्याउनकै लागि दुई दशक कुर्नुपरेको तितो यथार्थलाई हामी बिर्सने प्रयास गर्दैछौं । हुन त केही जटिलताहरु छन्, विरोधहरु भइरहेका छन्, तथापी हामी नयाँ नेतृत्व ल्याउने मार्गमा अघि बढिसकेका छौं । केही अवरोधहरु आउलान्, चिर्दै भएपनि अब स्थानिय निकायको निर्वाचन हुन्छ भन्ने विश्वास देशवासीले राखेका छन् ।
यो अवस्थामा अब राजनीतिक दलहरुपनि जिम्मेवार भएर अघि बढ्नुपर्ने आवश्यकता छ । नेपाली जनताले विगत एक दशकमा धेरै घटनाहरु देखेका छन्, धेरैपरिस्थितिको सामना गरेका छन् । तीसबैले अब जनता सचेत भइसकेका छन् । अबका चुनावी ऐजेण्डा र नाराहरु गुलियो मिठाइजस्तो मात्र हुनु हुँदैन । रोग निको पार्ने औषधीजस्तो हुनुपर्छ । तबमात्र देश शान्ती र स्थिरतातर्फ अग्रसर हुन सक्छ ।
त्यस्तै अब जनताहरु पनि सचेत हुनुपर्छ । दलहरुको मोहोरा मात्र बन्नु हुँदैन । दलको घोषणापत्र हेरेर धेरैपटक देश झुक्किइसकेको छ । अब झुक्किनु हुन्न । व्यक्तिको क्षमता, पार्टीको नीति, सक्रियता र गतिविधि पनि हेर्नुपर्छ ।
अबको युग विकासको युग हुनुपर्छ । विकास र समृद्धि अबको समयको माग हो । त्यसैले आजको यो आवश्यकतालाई सबै पार्टी, समुह, संगठन र समुदायले मनन् गर्नुपर्छ । पार्टी, संगठन तथा समुह सबैको ध्येय आर्थिक समृद्धि हुनुपर्छ ।
समाजमा विभिन्न सामाजिक काम गरिरहेका संघ, संगठन छन् । तर ती संघ संगठनहरुले पनि दीर्घकालिन समृद्धिलाई जोड दिनुपर्छ । क्षणिक सामाजिक कार्यले दीर्घकालिन आवश्यकता धान्न सक्दैन । त्यसैले हाम्रो वकालत पनि अब समृद्धि र विकासको लागि हुनैपर्छ । जस्तै किसानलाई दुई चार वटा कार्यक्रममा बोलाएर शशक्तिकरणको नाममा बजेट सक्नुभन्दा उनीहरुको लागि पूर्वाधार निर्माण गरिदिए दीर्घकालिन हुन्छ ।
यसरी देशमा बस्ने सबै देशवासीले आफ्नो आफ्नो तर्फबाट तोकिएको भूमिका निर्वाह गरेमा मात्र देश विकास हुन सक्छ । त्यसैले यो अवसरमा हामी सबैले आफ्नो आफ्नो क्षेत्रबाट संकल्प गर्नुपर्छ । त्यसैले हामीले पनि पत्रकारितामार्फत् सानै भएपनि भूमिका निर्वाह गर्न न्यूजलय डटकमको सञ्चालन गरिरहेका छौं । हामीले यो अनलाइन सञ्चालन गर्दैगर्दा हामीले पनि एउटा संकल्प गरेका छौं, त्यो हो, न्यूजलयलाई तपाइको आफ्नो अनलाइन बनाउने छौं । त्यसको लागि तपाइको प्रतिक्रिया, सहयोगको अपेक्षा गर्दछौं ।
अन्त्यमा, नयाँ वर्ष २०७४ को अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।